हिलोले थुनियो बाटो : मैदीमा एम्बुलेन्स समेत पुग्न नसक्दा जनजीवन प्रभावित
199 पटक पढिएको
धादिङ-धादिङ जिल्लाका अधिकांश ग्रामीण भेगका सडकहरूको अवस्था वर्षासँगै दयनीय बन्ने गरेको छ। वर्षौँदेखि निर्माण सुरु गरिएका यी सडकहरूमा हिउँदमा जसोतसो मोटर गुडे पनि वर्षा लागेपछि भने हिलोले ढाकेर मानिस पैदल हिँड्न समेत नसक्ने अवस्था सिर्जना हुने गर्दछ। जिल्लामा विकास खर्चको बजेट हेर्दा सबैभन्दा बढी सडक निर्माण, पुनर्निर्माण र मर्मत सम्भारमा हुने गरे पनि उपलब्धि भने शून्यप्रायः देखिन्छ।
यस्तै भताभुङ्ग सडकको नमूना बनेको छ धादिङको ज्वालामुखी गाउँपालिका। लगातारको वर्षाका कारण ग्रामीण सडकहरू हिलाम्मे भएपछि यहाँको जनजीवन अत्यन्तै कष्टकर बनेको छ। प्रतिनिधिसभाका सभामुख डिपि (डोल प्रसाद) अर्यालको पैतृक घर तथा धादिङ क्षेत्र नम्बर २ का सांसद बोधप्रसाद श्रेष्ठको गृहगाउँ रहेको ज्वालामुखी गाउँपालिका वडा नम्बर २, मैदी जोड्ने सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएको छ।
स्थानीय तहको निर्वाचन भएको चार वर्ष बितिसक्दा र गाउँकै नेताहरू देशको सर्वोच्च तहमा पुग्दा पनि वर्षायाम सुरु हुनासाथ स्थानीयले व्यहोर्नुपर्ने सास्ती भने जस्ताको तस्तै छ।
ज्वालामुखी गाउँपालिकाका १, २, ३ र ४ नम्बर वडालाई जोड्ने मुख्य सडक मानिएका ससाह–अमराईँ–मैदी, पाल्पा भञ्ज्याङ–साँधभञ्ज्याङ–मैदी तथा ढोला–मैदी सडक खण्डहरू वर्षाका कारण पूर्ण रूपमा ठप्प छन्। साउन लागेयता निरन्तर परेको पानीले बाटोमा लेदो र हिलो जमेपछि गाउँ भित्रिने र बाहिरिने सवारी साधनका साथै एम्बुलेन्स समेत चल्न नसक्ने अवस्था सिर्जना भएको स्थानीय राजकुमार श्रेष्ठले बताए।
अत्यावश्यक कामले यात्रा गर्नुपर्ने तथा खाद्यान्न बोकेका बोलेरो गाउँ छिर्न नसकेपछि स्काभेटर र डोजरले तानेर वारपार गराउनुपर्ने बाध्यता छ। गाउँका सडकहरू अवरुद्ध बनेपछि गम्भीर बिरामी परेका मानिसहरूलाई उपचारका लागि सदरमुकामसम्म लैजान समेत सकिएको छैन।
ज्वालामुखी वडा नम्बर ३ को डुँडे भञ्ज्याङ, बरामगाउँ तथा वडा नम्बर ४ को पुर्सुक अर्याल गाउँका बाटोहरू पूर्ण रूपमा ठप्प छन्। नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा पर्ने धौखोला खेत क्षेत्रको सडक हिलाम्मे भएपछि केही दिनदेखि मैदीतर्फ जाने सम्पूर्ण यातायात सेवा रोकिएको स्थानीय सुजन सिंखडाले जानकारी दिए।
अर्कोतर्फ, साताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा पर्ने भएकाले स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी गाउँ बाहिर रहेका बेला कुनै महामारी वा आकस्मिक स्वास्थ्य समस्या आएमा ठूलो जनधनको क्षति हुन सक्ने भन्दै गाउँवासी चिन्तित बनेका छन्।
वर्षायाममा खोलाबाट ग्राभेल झिक्न पाइने कानुनी प्रतिबन्ध र ठेकेदार कम्पनीहरूले समयमै काम सम्पन्न नगर्ने अटेरी प्रवृत्तिका कारण वर्षेनि यस्तै समस्या दोहोरिने गरेको छ।
गाउँपालिका अध्यक्ष यमनाथ दनैले स्थानीय सरकारको एकल प्रयासले मात्र ठूला सडकको समस्या समाधान गर्न नसकिने बताए। उनका अनुसार ठेकेदारले समयमा काम नसकेकाले समस्या भएको हो र हाललाई सडकमा गाडी वा एम्बुलेन्स फसेमा डोजरको सहयोग लिएर वारपार गराउने अस्थायी व्यवस्था मिलाइएको छ। वर्षा कम हुनासाथ सडक मर्मत र स्तरोन्नतिको काम अघि बढाइने अध्यक्ष दनैको भनाइ छ।
यस्तै, सांसद बोधप्रसाद श्रेष्ठले पनि वर्षायाममा जनताले सास्ती पाएको स्वीकार गर्दै दीर्घकालीन समाधानका लागि पक्की सडक निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। यद्यपि, राजनीतिक नेतृत्वले शहरबाट आश्वासन मात्र बाँडेको तर व्यवहारमा भने आफूहरूले सास्ती मात्र भोग्नुपरेको भन्दै गाउँलेले आक्रोश व्यक्त गरेका छन्।








It’s smart to be cautious with online gaming – security is key! Seeing platforms like minibet focus on legitimacy & regulation is a good sign. Remember to always play responsibly & research before you bet! It’s about fun, not just winning.