तीन दिनदेखि सिद्धलेक-७ वडा कार्यालयको ताला खुलेन
241 पटक पढिएको
धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ७ मा कार्यरत कर्मचारीलाई बिनाकारण जागिरबाट निकालेको विरोधमा स्थानीय बासिन्दाले वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेपछि साउन २५ गतेदेखि लगातार तीन दिनसम्म कार्यालय खुल्न सकेको छैन।
गाउँपालिकाले साउन ६ गते पत्र थमाउँदै वडा सचिवको जिम्मेवारी समेत सम्हाल्दै आएकी कर्मचारी शान्ति मगरातीको म्याद थप नगर्ने निर्णय गरेपछि आक्रोशित स्थानीयले सोमबारदेखि वडा कार्यालयको मूल ढोकामा ताला लगाएका हुन्। तालाबन्दीका कारण वडा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण दैनिक नागरिक सेवा तथा प्रशासनिक कामकाज पूर्ण रूपमा ठप्प बनेको छ। दैनिक सिफारिस, नाता प्रमाणित तथा अन्य अत्यावश्यक कामका लागि पुगेका सर्वसाधारण सेवाग्राहीहरू कार्यालय बन्द हुँदा रित्तो हात फर्किन बाध्य भएका छन्।
स्थानीयका अनुसार तत्कालीन जिल्ला विकास समितिमार्फत २०६७ सालमा नियुक्ति पाएकी मगरातीसँगैका अन्य दुई कर्मचारीलाई पालिकाले विना सर्त निरन्तरता दिइए पनि बालुवा प्रशोधन केन्द्रको विवादलाई जोडेर गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले व्यक्तिगत प्रतिशोधका आधारमा मगरातीलाई मात्र हटाएको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् ।
कार्यालयमा ताला लागेपछि वस्तुस्थिति बुझ्न प्रहरी टोली पुगेर फर्कने गरे पनि गाउँपालिका र स्थानीय सरकारका तर्फबाट समस्या समाधानका लागि कुनै चासो र पहल नभएको स्थानीयको आरोप छ। हटाइएकी कर्मचारी मगरातीको बिनासर्त पुनर्वहाली नभएसम्म वडा कार्यालयको ताला नखोलिने र जबरजस्ती गर्न खोजिए कडा आन्दोलनमा उत्रने चेतावनी स्थानीयले दिएका छन्।








Hands down one of the best platforms for gaming I have used this year. The variety of games is insane. Go to phokadaplay and see for yourself.