एमाले धादिङले ‘जागरण अभियान’ सञ्चालन गर्ने

131 पटक पढिएको

७ भाद्र २०८३, आईतवार ०९:०६ सम्पादक: धादिङ न्यूज

धादिङ । नेकपा एमाले धादिङले जिल्लाका १३ वटै स्थानीय तहमा पार्टी जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

एमाले धादिङको नवौँ जिल्ला अधिवेशनपछि बसेको नवौँ जिल्ला कमिटीको बाह्रौँ बैठकले पार्टीका केन्द्रीय निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने गरी विभिन्न निर्णय गरेको हो। बैठक जिल्ला कमिटी अध्यक्ष अर्जुनकुमार श्रेष्ठ ‘गोर्खाली’को अध्यक्षतामा बसेको थियो।

बैठकले पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणलाई तीव्रता दिने निर्णय गरेको छ। भदौ १५ गतेसम्म नवीकरण तथा नयाँ सदस्यताको विवरण संकलन गरी प्रदेशमार्फत केन्द्रमा पठाउने निर्णय गरिएको छ। जिल्लामा हाल ६ हजार २१५ जना सदस्य रहेको विवरण सार्वजनिक गरिएको छ।

त्यस्तै, एमालेको केन्द्रीय निर्णयअनुसार धादिङमा ‘जागरण अभियान’ सञ्चालन गर्ने योजना बनाइएको छ। भदौ २१ गते जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा जागरण अभियानको शुभारम्भ गर्ने, असोज २५ गते निर्वाचन क्षेत्र नम्बर १ र असोज २४ गते निर्वाचन क्षेत्र नम्बर २ का कार्यकर्ता भेला तथा विजयादशमीको शुभकामना आदानप्रदान गर्ने कार्यक्रम तय गरिएको छ।

१३ वटै स्थानीय तहमा भदौ महिनाभित्रै पालिका स्तरको बृहत् कार्यकर्ता तथा जागरण अभियान सञ्चालन गरिसक्ने निर्णय पनि बैठकले गरेको छ।

अभियानलाई प्रभावकारी बनाउन प्रत्येक स्थानीय तहको जिम्मेवारी जिल्ला कमिटीका नेताहरूलाई तोकिएको छ।

यसैगरी, निर्वाचन आयोगले असोज १५ गतेसम्म नयाँ मतदाता नामावली संकलन गर्ने समय तोकेकाले १८ वर्ष उमेर पूरा भएका नयाँ मतदातालाई मतदाता नामावलीमा नाम दर्ता गराउन सहजीकरण गर्दै अभियान सञ्चालन गर्ने निर्णयसमेत एमाले धादिङले गरेको छ।