राप्रपा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङद्वारा पदबाट राजीनामा
192 पटक पढिएको
काठमाडौँ — बाग्मती प्रदेश सरकार गठन तथा समर्थनको विषयमा पार्टीभित्र चुलिएको विवादका बिच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले आफ्नो पदबाट राजीनामा दिएका छन्।
केन्द्रीय कार्यसम्पादन समितिले प्रदेश सरकारलाई समर्थन नगर्ने र सहभागी नहुने स्पष्ट निर्णय गरे पनि बाग्मती प्रदेशका सात जना सांसदले एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दिएका थिए। सोही समूहबाट तीन जना मन्त्रीसमेत बनेका छन्। पार्टीको संस्थागत निर्देशन विपरीत उभिएका ती सांसदहरूमध्ये तामाङका आफ्नै भाइ डम्बर तामाङ पनि परेका छन्। हाल बाग्मतीमा संसदीय दलका प्रमुख सचेतक रहेका डम्बरले पार्टी निर्णय उल्लंघन गरेपछि आफूलाई पदमा बहाल रहन नैतिक संकट परेको तामाङले राजीनामा पत्रमा उल्लेख गरेका छन्।
सुरुमा कुमारी तामाङ प्रमुख सचेतक रहेकोमा पार्टी निर्णयको पक्षमा उभिएकै कारण संसदीय दलका नेता उद्धव थापाले उनलाई हटाएर डम्बरलाई उक्त जिम्मेवारी दिएका थिए। तामाङ स्वयम् पनि सरकारमा जाने पक्षमा रहे पनि केन्द्रीय निर्णय आएपछि त्यसलाई स्वीकारेका थिए। तर, परिवारभित्रैबाट निर्णय उल्लंघन भएपछि उनले ५-७ दिनअघि नै अध्यक्ष राजेन्द्र लिङदेनसमक्ष राजीनामा बुझाएको स्रोतले जनाएको छ।
यता, पार्टी निर्णय विपरीत सरकारमा सहभागी भएका संसदीय दलका नेता उद्धव थापा तथा मन्त्रीहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई राप्रपाले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिसकेको छ। उनीहरूलाई सांसद पदबाट मुक्त गर्न प्रदेश सभा सचिवालयमा पत्राचार गरिए पनि सभामुखले हालसम्म कुनै निर्णय लिएका छैनन्। दलका नेता थापाले भने कारबाहीविरुद्ध अदालत जाने बताएका छन्। बाग्मती सरकारको वैधानिकतासम्बन्धी मुद्दा पहिलेदेखि नै अदालतमा विचाराधीन छ।
महामन्त्री राजेन्द्र गुरुङका अनुसार तामाङको राजीनामा प्राप्त भए पनि अध्यक्ष लिङदेनले स्वीकृत गरेका छैनन्। यो राजीनामा अस्वीकृत हुने सम्भावना पनि रहेको र यसबारे अध्यक्षले व्यक्तिगत निर्णय लिने वा बैठक बोलाएर छलफल गर्ने तयारी भइरहेको गुरुङले जानकारी दिए।
पञ्चायतकालदेखि राजनीतिमा सक्रिय तामाङ ७ पटकसम्म मन्त्री भइसकेका पाका नेता हुन्। २०७८ को महाधिवेशनमा कमल थापाको प्यानलबाट उपाध्यक्ष निर्वाचित भएका उनी पछिल्लो समय राजेन्द्र लिङदेन नेतृत्वको संस्थापन पक्षमै रहे पनि बाग्मती प्रदेश सरकारको विषयमा भने अध्यक्षसँग कुरा मिल्न सकेको थिएन।








Super happy with the rewards program here. It really keeps things exciting and gives you more value for your time. phbet100com is the real deal.
I’ve been trying out a few platforms lately and this one really stands out. The interface is super smooth and everything just works. Definitely worth a look if you want a hassle-free experience. Check out bdkrikia