गजुरीका बाढी प्रभावितलाई रेडक्रसको सहारा: अस्थायी शौचालय र खानेपानीदेखि ११२ जनालाई स्वच्छता सामग्री वितरण

72 पटक पढिएको

२३ भाद्र २०८३, मंगलवार २०:५१ सम्पादक: धादिङ न्यूज

धादिङ । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेका धादिङको गजुरीका बाढीपीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाले तत्काल आवश्यक राहत तथा पूर्वाधार व्यवस्थापनमा तीव्रता दिएको छ।

रेडक्रसले गजुरी गाउँपालिकास्थित गलौदी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका बाढी प्रभावित परिवारका लागि अस्थायी शौचालय निर्माण गर्नुका साथै धारा जडान गरी स्वच्छ पिउने पानीको व्यवस्था मिलाएको छ। यसका साथै बाढी प्रभावित क्षेत्रमा सरसफाइ, बालमैत्री वातावरण निर्माण र आवश्यक सहयोगका लागि रेडक्रसले स्थानीय सरोकारवालाहरूसँग निरन्तर समन्वय गरिरहेको छ।

यसै क्रममा, रेडक्रसले गजुरी गाउँपालिका वडा नं. ५ अन्तर्गतका गलौदी, बाङ्गे, पोखरेखोला, जरेखेत र बेल्खु क्षेत्रका बाढी प्रभावित ११२ जना महिलाहरूलाई मर्यादा स्वच्छता सामग्री वितरण गरेको छ। १५ देखि ४९ वर्ष उमेर समूहका गर्भवती, सुत्केरी तथा अपाङ्गता भएका महिलाहरूलाई प्राथमिकतामा राखेर नेरेसो र स्थानीय स्वयंसेवकहरूमार्फत उक्त सामग्री हस्तान्तरण गरिएको हो।

यसैबीच, प्रतिनिधिसभाका सभामुख डि.पी. अर्यालले गालौडी होल्डिङ सेन्टर पुगी नेपाल रेडक्रस सोसाइटी धादिङले सञ्चालन गरिरहेका राहत, उद्धार र पुनःस्थापना सम्बन्धी गतिविधिको स्थलगत अवलोकन गर्नुभएको छ।

अवलोकनका क्रममा सभामुख अर्यालले राहत सामग्री वितरणको अवस्था, प्रभावित परिवारको पहिचान तथा स्वयंसेवक परिचालनबारे जानकारी लिनुभएको थियो। सो अवसरमा होल्डिङ सेन्टरमा सरसफाइका लागि स्थानीय स्तरमै निर्मित बाँसका डोकोलाई डस्टबिनका रूपमा प्रयोग गरिएको देख्दा खुसी व्यक्त गर्दै उहाँले भन्नुभयो, “विपद्को कठिन समयमा स्थानीय स्रोत, सीप र उत्पादनको उपयोग गर्दै मानवीय सहायता पुर्‍याउने नेपाल रेडक्रसको यो पहल साँच्चै नै अनुकरणीय र सकारात्मक छ।”

भोटेकोशीको बाढीका कारण भएको क्षतिपछि प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, अस्थायी आवास र खानेपानी व्यवस्थापनमा रेडक्रस टोली निरन्तर खटिरहेको छ। विपद्को घडीमा समयमै आधारभूत सेवा पुर्‍याएको भन्दै प्रभावित परिवारहरूले रेडक्रसप्रति आभार व्यक्त गरेका छन्।