भोटेकोशी बाढीको ३ साता: सुरुङभित्रको उद्धार जटिल बन्दा सयौंको अवस्था अझै अज्ञात
30 पटक पढिएको
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले जलविद्युत आयोजनामा ठूलो मानवीय क्षति पुर्याए पनि सुरुङभित्र फसेकाहरूको अवस्था अझै यकिन हुन सकेको छैन । बाढी आएको तीन साता हुँदा पनि जलविद्युत आयोजनामा हराइरहेका ९ सय ९ जनाको अवस्था अज्ञात छ ।
पछिल्लो समय सुरुङभित्रको उद्धार कठिन बन्दै गइरहेको छ । भदौ १० गतेको बाढीले रसुवा र नुवाकोटका ११ जलविद्युत आयोजना तथा एउटा सोलार प्लान्टमा ठूलो क्षति पुर्याएको थियो । आयोजनाका संरचना बग्नुका साथै सुरुङसम्म पुग्ने बाटो र उद्धारमा प्रयोग हुने उपकरण लैजाने संरचना क्षतिग्रस्त हुँदा उद्धार कार्य जटिल बनेको हो ।
सरकारले ११ मध्ये ६ वटा आयोजनामा मात्रै अहिले उद्धार प्रयास जारी राखेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार माथिल्लो त्रिशूली–१, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’, लाङटाङ खोला, चिलिमे र रसुवा भोटेकोशीमा उद्धार टोली परिचालित छन् ।
यीमध्ये चिलिमे जलविद्युत आयोजनाको सुरुङमा फसेका ६ जनाको उद्धार हुने सम्भावना तुलनात्मक रूपमा बढी देखिएको छ । सोमबार दिउँसोसम्म उद्धार टोली सुरुङभित्र प्रवेश गर्ने प्रयासमा थियो । नेपाली सेनासहितको उद्धार टोलीमा रहेका रास्वपाका सांसद सागर ढकालले सोमबार सार्वजनिक गरेको भिडियोमार्फत उद्धार टोली फसेको भनिएका व्यक्तिहरूको नजिक पुग्न लागेको जानकारी दिएका छन् । उनले उद्धारको अन्तिम प्रयास भइरहेको बताए ।
अन्य आयोजनामा भने उद्धारको अवस्था अझै अनिश्चित छ । माथिल्लो त्रिशूली–१ मा मात्रै ५ सय ३८ जना हराइरहेका छन् । तीमध्ये ९ जना कोरियाली, ३४ जना चिनियाँ र ५० भारतीय नागरिक रहेको विवरण छ । त्यस्तै, त्रिशूली–३ ‘ए’मा ३९, त्रिशूली–३ ‘बी’मा १ सय ७८, लाङटाङ खोलामा ३९ र रसुवा भोटेकोशीमा ३ जना हराइरहेका छन् ।
उद्धार कार्य भइरहेका आयोजनाबाहेक पाँचवटा आयोजनामा भने खोजीसमेत सुरु हुन सकेको छैन । रसुवागढी जलविद्युत आयोजनामा ९३ जना, मैलुङ खोलामा ७ जना, त्रिशूली जलविद्युत केन्द्रमा ३ जना, देवीघाट जलविद्युत केन्द्रमा १ जना र मिडल त्रिशूली गंगामा २ जना हराइरहेका छन् ।
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धारमा ढिलाइ भएको भन्दै बेपत्ताका आफन्तले भदौ २२ गते काठमाडौंको माइतीघरमा प्रदर्शनसमेत गरेका थिए । यसअघि माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवितै उद्धार भएपछि अन्य सुरुङमा फसेकाहरूको खोजीप्रति आशा बढेको थियो । तर, त्यसपछि उद्धारको गति अपेक्षाकृत अघि बढ्न सकेको छैन ।
बाढीले आयोजनास्थलको संरचना नै ध्वस्त पारेपछि उद्धार टोलीलाई सुरुङसम्म पुग्न कठिन भएको सरकारी अधिकारीहरूले बताउँदै आएका छन् । आवश्यक उपकरण आयोजनास्थलसम्म पुर्याउनसमेत समस्या भएपछि उद्धारमा ढिलाइ भएको सरकारको भनाइ छ ।
तर, तीन सातासम्म सुरुङमा फसेकाहरूको अवस्था सार्वजनिक हुन नसक्दा पीडित परिवारमा भने निराशा बढ्दै गएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नियमित बुलेटिनमार्फत सामान्य विवरण सार्वजनिक गरे पनि उद्धारको प्रगति र सुरुङभित्रको वास्तविक अवस्थाका बारेमा विस्तृत जानकारी दिएको छैन ।
प्राधिकरणका सहप्रवक्ता प्रकाश पोख्रेलले उद्धारमा भइरहेको ढिलाइका बारेमा स्पष्ट धारणा दिन चाहेनन् । गृहमन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेसँग पनि यस विषयमा प्रतिक्रिया lida सम्पर्क हुन सकेन ।
रसुवा बाढीमा अझै ५ हजार १ सय ३० जना बेपत्ता रहेको सरकारी विवरण छ । भदौ २८ गते साँझ ७ बजेसम्मको विवरणअनुसार बेपत्ताको संख्या यति ठूलो रहे पनि पछिल्ला दिनमा शव भेटिने क्रम भने निकै घटेको छ ।
हालसम्म १ हजार ३ सय ९५ वटा मात्रै शव फेला परेका छन् । बेपत्ता आफन्त जीवितै भेटिने आशामा लामो समयदेखि खोजी र उद्धारको पर्खाइमा थिए । तर, समय बित्दै जाँदा जीवितै भेटिने आशा मात्र नभएर शव भेटिएर अन्तिम संस्कार गर्न पाउने अपेक्षासमेत कमजोर हुँदै गएको छ ।
शवसमेत भेटिन नसकेपछि केही परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालेका छन् । पशुपति आर्यघाटमा पछिल्ला दिनमा दैनिक करिब २० जनाको कुशको शव बनाएर अन्तिम संस्कार भइरहेको घाट व्यवस्थापन समितिले जनाएको छ ।
विनाशकारी बाढी तथा हिमपहिरोबाट रसुवा, धादिङ, नुवाकोट, तनहुँ र गोरखाका १९ स्थानीय तह प्रभावित भएका छन् । घटनाबाट ५० भन्दा बढी जिल्लाका नागरिक प्रभावित भएको सरकारी विवरण छ ।
जलविद्युत आयोजनाका सुरुङमा बेपत्ता भएकाहरूको खोजी र उद्धारमा भइरहेको ढिलाइसँगै परिवारले राज्यबाट स्पष्ट सूचना र प्रभावकारी उद्धारको अपेक्षा गरिरहेका छन् । तर, दिनहरू बित्दा पनि सयौंको अवस्थाका बारेमा यकिन जानकारी नआउनुले विपद्पछिको उद्धार व्यवस्थापनमाथि प्रश्न उठेको छ ।







