भोटेकोशी बाढी : १ हजार ४०९ जनाको शव फेला, ४ हजार बढी अझै बेपत्ता
6 पटक पढिएको
काठमाडौं, १ असोज – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण ठूलो मानवीय क्षति भएको छ। बिहीबार बिहान ५ बजेसम्मको अध्यावधिक विवरण अनुसार बाढीमा परी १ हजार ४०९ जनाको शव फेला परेको छ।
विभिन्न जिल्लाहरूबाट प्राप्त तथ्याङ्कअनुसार रसुवामा १९९ जना, नुवाकोटमा २०२ जना, धादिङमा ७२ जना, चितवनमा ३६४ जना, गोरखामा ७८ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४०७ जनाको शव विभिन्न स्थानबाट फेला परेको हो। यसैगरी, उपचारका क्रममा काठमाडौंमा २ जनाको मृत्यु भएको छ।
फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन लगायतका आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार २३७ वटा शव सुरक्षित रूपमा व्यवस्थापन (माटोमुनि सुरक्षित राखिएको) गरिएको छ। शव पहिचान सहज बनाउन मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९१४ गरी कुल ३ हजार २०० वटा डिएनए नमुना सङ्कलन गरिएको छ। साथै, पहिचान नभएका १ हजार ३६१ वटा शवहरूको विवरण नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा समेत अपलोड गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरूलाई मैदानमा खटाइएको छ। बाढीबाट बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य निरन्तर भइरहेको छ भने विभिन्न जिल्लाहरूमा निर्माण गरिएका होल्डिङ सेन्टरहरूमा १ हजार ९७९ जना प्रभावित व्यक्तिहरूलाई राखिएको छ।







