धमला, पाख्रिन र ढुंगानाबीच धादिङ कांग्रेसमा सहकार्यको समझदारी,देउवा पक्षद्वारा छुट्टै भेला आयोजक समिति गठन

198 पटक पढिएको

५ आश्विन २०८३, सोमबार ०९:५५ सम्पादक: धादिङ न्यूज

धादिङ- नेपाली कांग्रेसभित्र केन्द्रमा आन्तरिक विवाद र शक्ति सङ्घर्ष चुलिरहेका बेला १५औँ महाधिवेशनअन्तर्गत धादिङमा आज वडा अधिबेशन हुंदैछ । पार्टीको एउटा पङ्क्ति वडा अधिवेशनमा होमिएको छ भने शेरबहादुर देउवा निकटको समूहले छुट्टै जिल्ला भेला आयोजक समिति गठन गरी समानान्तर गतिविधि अघि बढाएको छ।
गगन थापा नेतृत्वको नेपाली कांग्रेसले १५औँ महाधिवेशन २०८३ असोज १६ देखि १९ गतेसम्म काठमाडौँको खुलामञ्चमा गर्ने निर्णय गरेसँगै वडा तहबाटै निर्वाचन प्रक्रिया सुरु भएको छ।  गगन थापा नेतृत्वको नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी रहेका छन्।
यसैबीच, अधिवेशन प्रकृया अघि बढिरहेको बेला जिल्ला पार्टीका तीन प्रभावशाली नेताहरू केन्द्रीय सदस्यद्वय रमेश धमला, दिलमान पाख्रिन र नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भीमप्रसाद ढुंगानाबीच वडादेखि जिल्ला अधिवेशनसम्म सहमति र सहकार्यका साथ अघि बढ्ने समझदारी भएको छ। महासमिति सदस्य सरोज अधिकारीका अनुसार, नेताहरूले अनावश्यक प्रतिस्पर्धा र विवाद नगरी पार्टीलाई बलियो बनाउन एकजुट हुने सन्देश दिएका छन्। उनीहरूले यो एकता कसैलाई हराउन नभई सङ्गठनको बृहत्तर हितका लागि भएको स्पष्ट पार्दै अन्य समूहलाई पनि समेटेर लैजाने प्रतिबद्धता जनाएका छन्। साथै, क्षेत्रीय प्रतिनिधि चयनमा सक्रिय र खटिएका कार्यकर्तालाई प्राथमिकता दिन आग्रह गरिएको छ। यो सहमतिले जिल्लाको अधिवेशनमा कस्तो प्रभाव पार्छ भन्ने वडा तहको परिणामले थप प्रष्ट पार्नेछ।
कांग्रेसकै शेरबहादुर देउवा पक्षधरले भने १५औँ महाधिवेशनका लागि छुट्टै मिति र कार्यतालिका अघि सार्दै धादिङमा पनि छुट्टै जिल्ला भेला आयोजक समिति गठन गरेको छ। केन्द्रीय प्रतिनिधि धर्मराज अर्यालको परिपत्रअनुसार धादिङ जिल्ला अधिवेशन तयारी भेला गराउने जिम्मेवारी नेता गोपाल विश्वकर्मालाई तोकिएको छ। जिम्मेवारी प्राप्त गरेपछि नेता विश्वकर्माले पार्टीको विधान र समावेशी नीतिअनुसार समानुपातिक, समावेशी, युवा, विद्यार्थी, ‘जेन्जी’ तथा अग्रज सबैलाई समेटेर भेलामा व्यापक सहभागिता गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

विश्वकर्माका अनुसार धादिङमा असोज ७ गते पालिका र असोज १० गते प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुनेछ। पार्टीले सार्वजनिक गरेको समग्र महाधिवेशनको मुख्य कार्यतालिकाअनुसार वडा अधिवेशन असोज १५ गते, पालिका अधिवेशन असोज २० गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज २३ गते, जिल्ला अधिवेशन कार्तिक १५ गते, प्रदेश अधिवेशन मङ्सिर ४ गते र केन्द्रीय महाधिवेशन मङ्सिर २१, २२ र २३ गते हुने निर्धारण गरिएको छ।

नेपाली कांग्रेस यतिबेला आफ्नो १५औं केन्द्रीय महाधिवेशनको तयारीमा जुटिरहेको छ। केन्द्रीय कार्यसमिति निर्णयानुसार आगामी २०८३ असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन हुँदैछ। यसैबीच, १५औं महाधिवेशनलाई लक्षित गर्दै कांग्रेसभित्र आन्तरिक तयारी र भेलाहरू तिब्र पारिएका छन्।

पार्टीको १५औं महाधिवेशनलाई मध्यनजर गर्दै धादिङ जिल्लामा शेरबहादुर देउवा पक्षधर कांग्रेस नेता तथा कार्यकर्ताहरूको भेला सम्पन्न भएको छ। नेपाली कांग्रेस जिल्ला अधिवेशन तयारी समितिका संयोजक गोपाल विश्वकर्माको सभापतित्वमा भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय तहका नेताहरूको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि डा. प्रकाश शरण महत रहनुभएको थियो भने धादिङ जिल्लाका महासमिति सदस्यहरू विश्व अर्याल, प्रदेश सांसद शिवराज अधिकारी, दिनेश बहादुर गुरुङ लामा, सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, ताराकुमार श्रेष्ठ, गुननिधि त्रिपाठी, टिकानिधि काप्री, बालकृष्ण नेपाली, दीपेन्द्र पाठक, रविन्द्र दाहाल, नारायण शर्मा, बेसन कोइराला लगायतका नेताहरूको सहभागिता रहेको थियो। भेलाले आगामी महाधिवेशनमा पार्टीलाई सुदृढ र एकजुट बनाउँदै अगाडि बढ्ने विषयमा छलफल गर्नुका साथै विभिन्न आन्तरिक तयारीका योजना बनाएको छ।