मलेखु–परेवाटार झोलुङ्गे पुल पैदलयात्री र दुईपाङ्ग्रे सवारीका लागि वैकल्पिक मार्ग

34 पटक पढिएको

१० आश्विन २०८३, शनिबार ०८:३२ सम्पादक: धादिङ न्यूज

धादिङ । भदौ १० गतेको बाढीले फुर्केखोलाको पक्की पुल बगाएपछि धादिङबेसी र पृथ्वीराजमार्गबीचको नियमित यातायात सम्पर्क प्रभावित बनेको छ। पुल बगेपछि सदरमुकामबाट राजमार्ग र राजमार्गबाट सदरमुकाम आवतजावत गर्न सास्ती भएको छ ।

धादिङबेसीतर्फ आवतजावत गर्ने यात्रुका लागि विभिन्न वैकल्पिक मार्ग प्रयोगमा आए पनि सहज यात्रा हुन सकेको छैन। अहिले पुरानो मलेखु हुँदै परेवाटार दोभानको झोलुङ्गे पुल तरेर मोटरसाइकल तथा स्कुटरमा धादिङबेसी आउजाउ गर्न सकिने गरी सडक स्तरोन्नति गरिएको छ।

सदरमुकामबाट पृथ्वीराजमार्ग निस्कने सर्वसाधारणले सिद्धलेक गाउँपालिका वडा नम्बर ६ खरमटारमा रहेको झोलुङ्गे पुलको प्रयोग गर्दै आवतजावत गरिरहेको भए पनि सो पुल समेत जीर्ण भएकाले अहिले त्यहाँबाट मोटरसाइकल गुडाउन रोकिएको छ।

अर्को विकल्पको रूपमा रहेको पुरानो मलेखु निस्कने फिसटार हुँदै परेवाटार दोभान निस्किएर जाने झोलुङ्गे पुलको बाटो निकै साँघुरो भए पनि सिद्धलेक गाउँपालिकाले यो बाटो मर्मत गर्न चासो नदिँदा सर्वत्र विरोध हुँदै आएको थियो।  मोटरसाइकलमा हिँड्ने यात्रुले निकै कष्ट व्यहोर्नु परेपछि सिद्धलेक गाउँपालिका वडा नम्बर ६ ले यो सडकको मर्मत गरेको छ।

वडा अध्यक्ष सुरेन्द्र मगरका अनुसार, भोटेकोशी र त्रिशूली नदीको विनाशकारी बाढीपछि वैकल्पिक रूपमा प्रयोग हुँदै आएको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ३ मलेखु र सिद्धलेक गाउँपालिका वडा नम्बर ६ जोड्ने मलेखुको झोलुङ्गे पुलको बाटो फराकिलो बनाउने कार्य सम्पन्न भइसकेको छ। तसर्थ, सो बाटोबाट आवतजावत गर्ने पैदलयात्री तथा दुईपाङ्ग्रे सवारीसाधनहरूलाई मलेखुको झोलुङ्गे पुलबाट आवतजावत गरिदिन वडा अध्यक्ष मगरले अनुरोध गर्नु भएको छ ।

पुलसम्म पुग्ने साँघुरो तथा असहज बाटोका कारण आवतजावतमा समस्या भएपछि सिद्धलेक गाउँपालिका–६ को वडा कार्यालयले मेसिन लगाएर सडक स्तरोन्नति गरेको हो। यससँगै मोटरसाइकल तथा स्कुटरमा यात्रा गर्ने यात्रुले पुरानो मलेखु हुँदै परेवाटार दोभानको झोलुङ्गे पुल तरेर धादिङबेसीतर्फ जान र सोही मार्गबाट मलेखु निस्कन सक्ने छन्।

मलेखु दोभानबाट फिसटार निस्कने यो सडक २०५६ सालसम्म सदरमुकाम आवतजावत गर्ने मुख्य सडकका रूपमा प्रयोग हुँदै आएको थियो। २०५६ सालमा फुर्केखोलामा मोटर चल्ने पक्की पुल बनेपछि भने पुरानो सडकको प्रयोग क्रमशः घटेको थियो। फुर्केखोलामा पक्की पुल बन्नुअघि त्रिशूली नदीमा फेरीमार्फत मोटरसहितका सवारीसाधन वारिपारि तारेर यातायात सञ्चालन गर्ने गरिएको थियो।

परेवाटारबाट नजिकै रहेको खरमटारको झोलुङ्गे पुल तरेर बिहानी पम्पतर्फ जाने तथा सोही रुटबाट खरमटारतर्फ आवतजावत गर्ने यात्रुको संख्या पनि उल्लेख्य छ। तर बिहानी पम्प निस्कने झोलुङ्गे पुल जोखिमपूर्ण भएपछि त्यहाँबाट मोटरसाइकल तथा स्कुटर आवतजावतमा रोक लगाइएको छ।

यसका कारण यात्रुहरूले थप समस्या भोग्नुपरेको छ। वैकल्पिक मार्ग हुँदै गजुरी ब्यारेकछेउ पुग्नसमेत निकै कठिनाइ भएको यात्रुहरूको गुनासो छ।

 फुर्केखोलाको पुल बगेपछि धादिङबेसी र पृथ्वीराजमार्गबीचको आवतजावतमा सर्वसाधारणदेखि विद्यार्थी, किसान र कर्मचारीसम्म प्रभावित भएका छन्। पुरानो मलेखु–परेवाटार सडक स्तरोन्नतिपछि दुईपाङ्ग्रे सवारीसाधनका लागि केही सहजता भएको छ।