नवलपुरको दाउन्नेमा बस दुर्घटना : ६ जनाको मृत्यु, १० घाइते
41पटक पढिएको
१७ आश्विन २०८३, शनिबार ०८:१९
सम्पादक: धादिङ न्यूज
नवलपुर । नवलपुरको बिनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्नेको एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
कोहलपुरबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस आज बिहान करिब पौने ४ बजे महेन्द्र राजमार्गअन्तर्गत दाउन्नेमा ब्रेक फेल भएर सडकबाट नालामा पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार बसमा चालकसहित १८ जना सवार थिए। दुर्घटनामा ६ जनाको मृत्यु भएको, १० जना घाइते भएका छन् भने २ जना सकुशल रहेका छन्।
मृत्यु हुनेमध्ये जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ। अन्य पाँच मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते हुनेमा गोरखाका हरिशरण थापा, अछामका तेजेन्द्रप्रसाद भण्डारी, बर्दियाकी आकृती, बाजुराका पवन बुढा, बर्दियाका सञ्जय थारु, बाजुराका प्रेम बम, ललितपुरका अनोज खत्री, बर्दियाका लालबहादुर कार्की, बाँकेका अस्लाम भगवान र सल्यानका अनिल बुढाथोकी रहेका छन्।
घटनाको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले बसमा सवार घाइतेहरूको उद्धार गरी उपचारका लागि कावासोतीस्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाएको छ।
घटनाबारे थप विवरण तथा मृतकहरूको पूर्ण सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।