नीलकण्ठमा कांग्रेसको १५औँ नगर अधिवेशन सम्पन्न, पदमप्रसाद पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन

38 पटक पढिएको

२१ आश्विन २०८३, बुधबार ०६:४३ सम्पादक: धादिङ न्यूज

धादिङबेसी । नेपाली कांग्रेस नीलकण्ठ नगरपालिकाको १५औँ नगर अधिवेशन सम्पन्न भएको छ। पार्टीको आन्तरिक निर्वाचन प्रक्रिया अन्तर्गत सम्पन्न यस अधिवेशनबाट पदमप्रसाद पोखरेलको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरिएको छ।

कांग्रेस जिल्ला संयोजक गोपाल विश्वकर्माको प्रमुख आतिथ्यता तथा नगर संयोजक कपिल भट्टको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा बागमती प्रदेशका सांसद गोविन्द लम्साल, कांग्रेसका पूर्वउपसभापति रामकृष्ण अधिकारी, प्रदेशसभा क्षेत्र नम्बर ‘क’ का संयोजक बालकृष्ण नेपाली, निवर्तमान जिल्ला सदस्य नारायण पोखरेल, र केन्द्रीय विधान मस्यौदा समितिका सदस्य बामदेव अधिकारीको विशेष उपस्थिति रहेको थियो। त्यस्तै, कार्यक्रममा बागमती प्रदेश सदस्य अमितसिंह कार्की, युवा नेताहरू हरि अधिकारी, राम ढकाल, इन्जिनियर विनोद ढकाल, बसन्त परियार र विष्णु नेपाललगायतका नेताहरूको पनि आतिथ्यता रहेको थियो। अधिवेशनका क्रममा वक्ताहरूले संगठनलाई थप सुदृढ, चलायमान र प्रभावकारी बनाउन तल्लो तहदेखि नै आपसी एकता, समन्वय र सहकार्य अपरिहार्य रहेको कुरामा जोड दिएका थिए।

अधिवेशनको बन्दसत्र तथा निर्वाचनबाट नयाँ कार्यसमितिको पदाधिकारीहरूमा उपसभापतिमा सरस्वती कोइराला, सचिवमा भीमबहादुर मगर र सहसचिवमा चेतबहादुर थापा क्षेत्री निर्वाचित हुनुभएको छ। यसैगरी कार्यसमितिका सदस्यहरूमा विष्णुप्रसाद पोखरेल, भगवती ढकाल, साधुराम ढकाल, पूर्णमान बराइली, भक्तबहादुर श्रेष्ठ, शेरबहादुर थापा मगर र तुलबहादुर विक सर्वसम्मत वा, निर्वाचनमार्फत चयन हुनुभएको छ। अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित सम्पूर्ण अतिथि तथा नेताहरूले हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका छन्।