फुर्के खोलामा बेलीब्रिज राख्न पहल गर्छु: रास्वपा प्रवक्ता जगदिश खरेल
40 पटक पढिएको
धादिङबेसी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता तथा पूर्वसञ्चारमन्त्री जगदिश खरेलले धादिङको फुर्के खोला पुलमा यातायात सञ्चालन सहज बनाउन तत्काल बेलीब्रिज निर्माणका लागि पहल गर्ने प्रतिबद्धતા व्यक्त गरेका छन्। रास्वपाद्वारा सञ्चालित ‘हामी आउँदैछौँ’ अभियानको सिलसिलामा धादिङ आइपुगेका खरेलले उत्तरी धादिङ र गोरखा जोड्ने मुख्य मार्गको रूपमा रहेको यस पुलको अवरोधले जनजीवन प्रभावित भएको भन्दै केन्द्र सरकारसमक्ष यो विषय जोडका साथ उठाउने बताएका हुन्।
बाढीले पुल बगाएपछि लामो समयदेखि सडक सम्पर्क टुटेको उल्लेख गर्दै उनले दीर्घकालीन समाधानसँगै यातायात सुचारुका लागि बेलीब्रिज नै अहिलेको पहिलो आवश्यकता भएको औंल्याए। साथै, वैकल्पिक रुटका रूपमा रहेको परेवाटार–मासटार सडकखण्डलाई कालोपत्रे गर्नका लागि समेत आवश्यक पहल गर्ने उनले आश्वासन दिएका छन्।
सोही क्रममा रास्वपाले अघि बढाएको ‘करारनामा’ बारे बोल्दै प्रवक्ता खरेलले पार्टीले सुशासन, आर्थिक समृद्धि, रोजगारी सिर्जना, सम्पर्क र प्रवासलाई आफ्नो मुख्य कार्यभार बनाएको स्पष्ट पारे। सदाचार र सुशासनलाई पहिलो आधारशिला बनाइएको बताउँदै उनले गरिबीको रेखामुनि रहेका सीमान्तकृत जनताको जीवनस्तर उकास्नु र देशमै रोजगारीका अवसरहरू सृजना गर्नु वर्तमानको प्रमुख चुनौती रहेको बताए।
विदेशमा रहेका करिब ८० लाख नेपालीहरूको मुद्दालाई पार्टीले उच्च प्राथमिकतामा राखेको उनले बताए। राज्यको मूल प्रवाहबाट टाढिँदै गएका प्रवासी नेपालीहरूलाई जोड्न उनीहरूलाई नागरिकता, आर्थिक लगानी तथा मताधिकार दिलाउनु पर्नेमा रास्वपा दृढ रहेको खरेलले थप स्पष्ट पारे।







