पृथ्वीराजमार्गको गलौँदीमा सडक बीचबाटै भासियो, मुग्लिन–काठमाडौं यातायात पूर्ण रूपमा ठप्प

28 पटक पढिएको

२३ आश्विन २०८३, शुक्रबार २०:०० सम्पादक: धादिङ न्यूज

धादिङ, २३  असोज । प्रमुख राजमार्गको रूपमा रहेको पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५, गलौँदीमा सडक भासिएपछि सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द भएको छ। सडकको बीच भागमै ठूला चिरा परेर लगातार भासिने क्रम जारी रहेपछि राजमार्ग दुईतर्फी नै अवरुद्ध बनेको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक श्यामकुमार बस्नेतका अनुसार सडकको करिब १०० मिटर भाग चर्किएको र २० मिटरभन्दा बढी भाग गहिरिएर भासिएको छ। सडक भासिने क्रम अझै नरोकिएका कारण तत्काल सवारीसाधन सञ्चालन गर्न अत्यधिक जोखिमपूर्ण रहेको प्रहरीले जनाएको छ।

अचानक राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएपछि राजधानी काठमाडौं भित्रिने र बाहिरिने सयौँ सवारीसाधन र हजारौं यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। चाडपर्वको समयमा मुख्य नाका नै ठप्प हुँदा यात्रा गर्ने तयारीमा रहेका सर्वसाधारण मारमा परेका छन्।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरीको टोलीले प्रभावित क्षेत्रमा पुगी सुरक्षा पहरा दिइरहेको छ। प्रहरी र स्थानीय प्रशासनले सडक डिभिजन कार्यालयसँगको समन्वयमा अवरुद्ध सडक खुलाउने र वैकल्पिक यातायात व्यवस्थापनको लागि आवश्यक पहल थालेका छन्।

जोखिमपूर्ण अवस्था पूर्ण रूपमा नियन्त्रणमा नआएसम्म र सडक मर्मत नभएसम्म यात्रा गर्दा वैकल्पिक मार्ग प्रयोग गर्न वा सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ।