ठाकुरप्रसाद शर्मा प्रतिष्ठानद्वारा एकैसाथ विभिन्न विधाका आठ पुरस्कार तथा सम्मान वितरण गरिने

39 पटक पढिएको

२४ आश्विन २०८३, शनिबार २२:१० सम्पादक: धादिङ न्यूज

धादिङ, २४ असोज । ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले एकैसाथ आठ भन्दा बढी विधामा पुरस्कार, सम्मान तथा छात्रवृत्ति वितरण गर्ने भएको छ। कलङ्कीस्थित एडमार्क कलेजमा बसेको प्रतिष्ठानको कार्यसमितिको बैठकले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्व तथा उत्कृष्ट प्रतिभाहरूलाई नगद राशिसहित पुरस्कृत गर्ने निर्णय गरेको हो।

धादिङ जिल्लाकै पहिलो माध्यमिक विद्यालयको रूपमा २०२५ सालमा स्थापना भएको गजुरीस्थित आदर्श हाईस्कुलका संस्थापक तथा पहिलो प्रधानाध्यापक ठाकुरप्रसाद शर्माको स्मृतिको सम्मान गर्दै यो प्रतिष्ठान स्थापना गरिएको हो। धादिङमा कुनै जिवित व्यक्तिको नाममा गठन भएको यो नै पहिलो प्रतिष्ठान हो। जिल्लाको शैक्षिक, साहित्यिक र सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने तथा ठाकुरप्रसाद शर्माको योगदानलाई जीवित राख्ने उद्देश्यले दर्ता गरी सञ्चालनमा ल्याइएको यस प्रतिष्ठानले स्रष्टा तथा प्रतिभाहरूलाई निरन्तर सम्मान गर्दै आएको छ।

प्रतिष्ठानका अध्यक्ष डा. सदानन्द कँडेलका अनुसार अघिल्लो वर्ष बुद्ध जयन्तीको दिनदेखि सुरु गरिएको अभियानअन्तर्गत प्रतिष्ठानको अक्षयकोषमा हालसम्म १५५ जनाभन्दा बढी आजीवन सदस्यहरूबाट ३३ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको छ। सोही कोषको ब्याजबाट पुरस्कार तथा अन्य सामाजिक–शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने उद्देश्य प्रतिष्ठानले लिएको छ।

प्रतिष्ठानको निर्णयअनुसार आउँदो २०८३ साल मङ्सिर ४ गते धादिङको गजुरीमा एक विशेष समारोहको आयोजना गरी विभिन्न पुरस्कार तथा सम्मान समर्पण गरिनेछ। गजुरीमा हुने कार्यक्रममा २५/२५ हजार रुपैयाँ राशिका ‘आदर्श शिक्षक पुरस्कार’, ‘आदर्श शिक्षासेवी पुरस्कार’, ‘टंकप्रसाद-देवका खतिवडा समाजसेवा सम्मान’, ‘मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान’ र ‘लक्ष्मणदास श्रेष्ठ युवा सम्मान’ प्रदान गरिनेछ। त्यसैगरी एसइइ परीक्षामा जिल्लाभरिबाट सर्वोत्कृष्ट हुने एक छात्र र एक छात्रालाई १०/१० हजार रुपैयाँ राशिको ‘उत्कृष्ट विद्यार्थी पुरस्कार’ र ‘उत्कृष्ट छात्रा पुरस्कार’का साथै १० हजार रुपैयाँ राशिकै ‘जीवनारायण कंडेल स्मृति छात्रवृत्ति’ प्रदान गरिनेछ। प्रतिष्ठानले ठाकुरप्रसाद शर्मा राष्ट्रिय शिक्षा पुरस्कारको समेत घोषणा गरेको छ।

यसैबिच, प्रतिष्ठानको साधारण सभा आगामी २०८३ माघ ५ गते धादिङको मैदीस्थित उखुबारीमा आयोजना हुने भएको छ। उक्त साधारण सभाको अवसर पारेर रु. २५ हजार राशिको ‘मुक्तिनाथ अधिकारी शिक्षासेवा तथा समाजसेवा सम्मान’ समेत प्रदान गरिने अध्यक्ष डा. कँडेलले जानकारी दिनुभयो।