नेपाली कांग्रेस खुला केन्द्रीय सदस्यतर्फको मतगणनामा चिरिबाबु महर्जनको अग्रता,धादिडका कृष्ण रिजाल १५४४ मत सहित ४५ औं स्थानमा ,भीमप्रसाद ढुङ्गाना ५० औँ स्थानमा
72 पटक पढिएको
काठमाडौं ,२९ असोज। नेपाली कांग्रेसको जारी मतगणनाअन्तर्गत खुला केन्द्रीय सदस्य पदतर्फ चिरिबाबु महर्जनले ३ हजार ७१२ मतका साथ अग्रता कायम गरेका छन्। सार्वजनिक मतपरिणामअनुसार निश्कल राई ३ हजार ४५४ मतसहित दोस्रो, इन्द्रबहादुर बानियाँ ३ हजार २२८ मतसहित तेस्रो, प्रा.डा. गोविन्दराज पोखरेल ३ हजार १२६ मतसहित चौथो र जितनारायण श्रेष्ठ ३ हजार ३१ मतसहित पाँचौँ स्थानमा रहेका छन्।
यस्तै मतपरिणामको सूचीमा ई. मोहन आचार्य (२,९२५), प्रबल थापा (२,८७१), गणेश लामा (२,७०२), राजीव कोइराला (२,६९३), हिमालदत्त श्रेष्ठ (२,५७८), विद्वान गुरुङ (२,४३८) र डा. शोभाकर पराजुली (२,३५४) अग्रपङ्क्तिमा छन्।
धादिङबाट खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारहरूमध्ये गत संसदीय निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार बनेका कृष्ण रिजाल १ हजार ५४४ मत प्राप्त गरी ४५ औँ स्थानमा रहेका छन्।
उता देशभर राम्रो पहुँच र पकड रहेका कारण धेरै मत पाउने अपेक्षा गरिएका नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवम् नीलकण्ठ नगरपालिका धादिङका प्रमुख भीमप्रसाद ढुङ्गाना भने १ हजार ४५० मतका साथ ५० औँ स्थानमा सीमित भएका छन्। रिजाल मतपरिणाममा ढुङ्गानाभन्दा अगाडि देखिएका छन्। २०४९ सालदेखि स्थानीय तहमा जनप्रतिनिधिको भूमिकामा सक्रिय ढुङ्गानाले ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) र सडक बोर्डजस्ता ठूला अनुदान वितरण गर्ने निकायको नेतृत्व गरिसकेका छन्। यस्तै धादिङकै अर्का उम्मेदवार राधाकृष्ण भण्डारी (राधे) ९१० मत प्राप्त गरी ७८ औँ स्थानमा रहेका छन्।
धादिङबाट विभिन्न क्लस्टरमा १२ जनाको उम्मेदवारी परेकोमा हालसम्म खुला तथा समावेशी कोटाबाट पूर्व केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य सीता थपलिया (उर्मिला) र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी निवर्तमान केन्द्रीय अध्यक्ष एवम् लोकदोहोरी गायिका रीता थापामगर केन्द्रीय सदस्यमा निर्वाचित भइसकेका छन्।







