अक्सफाम र फोकस नेपाल मार्फतगल्छी–६ का ६७ बाढी प्रभावित परिवारलाई चाडपर्व लक्षित खाद्यान्न तथा सरसफाइ सामग्री हस्तान्तरण

47 पटक पढिएको

२९ आश्विन २०८३, बिहीबार १७:१६ सम्पादक: धादिङ न्यूज

 

धादिङ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भई पूर्ण क्षति व्यहोरेका गल्छी गाउँपालिका–६ का ६७ परिवारलाई   चाडपर्व केन्द्रित खाद्यान्न तथा सरसफाइ सामग्री हस्तान्तरणगरिएको छ।

अक्सफाम नेपालको सहयोगमा बिहीवार गल्छी ६ को जिन्सेटार स्थित शहरी विकास भवनमा फोकस नेपालमार्फत प्रभावित परिवारलाई प्रतिपरिवार ४ लिटर खाने तेल, ५ किलो चिउरा, ३ किलो चना, ३ किलो केराउ, ३ किलो दाल, १ किलो नुन, १ किलो चिनी, २ प्याकेट सोयाबिन र १ किलो दालमोठ वितरण गरिएको हो।

त्यसैगरी, प्रत्येक परिवारलाई एक थान टावेल, एक थान पियुष, लुगा धुने साबुन ४ वटा, पो फर्म म्याट २ वटा, अन्डरगार्मेन्ट ४ वटा, एक थान कोलगेट, एक थान ब्रस, एक प्याकेट स्यानिटरी प्याड, नुहाउने साबुन २ वटा, काइँयो ३ वटा, नैना ३ वटा र एक थान झोला पनि उपलब्ध गराइएको छ।

सहायता सामग्री वितरण कार्यक्रममा फोकस नेपालका अध्यक्ष तोलाकुमारी पाठक र कोषाध्यक्ष कल्पना थापाको उपस्थिति रहेको थियो। गाउँपालिका अध्यक्ष केदार खतिवडा, प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलाल, विपद् शाखा प्रमुख रामप्रसाद ज्ञवाली तथा वडा सदस्य भरत अधिकारीको रोहबरमा सामग्री वितरण गरिएको हो।

बाढीबाट पूर्ण क्षति व्यहोरेका परिवारलाई दैनिक उपभोग्य तथा आवश्यक व्यक्तिगत सामग्री उपलब्ध गराउँदै प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न सहयोग पुर्‍याउने उद्देश्यले सहायता वितरण गरिएको हो।