गजुरीमा एकीकृत स्वास्थ्य शिविर सम्पन्न, ३५१ नागरिक लाभान्वित १० जना जटिल रोगका बिरामी काठमाडौं रेफर, चेपाङ समुदायलाई खाद्यान्न र न्यानो कपडा वितरण

36 पटक पढिएको

३० आश्विन २०८३, शुक्रबार ०३:०३ सम्पादक: धादिङ न्यूज

धादिङ। धादिङको गजुरी गाउँपालिका–६, जरेबगैँचास्थित  भानुभक्त माध्यमिक विद्यालयमा एकीकृत स्वास्थ्य शिविर सम्पन्न भएको छ। ‘स्वास्थ्य सेवामा सबैको पहुँच स्थापित गरौँ’ भन्ने नारासहित गजुरी गाउँपालिकाको आयोजनामा  भएको शिविरबाट ३५१ जना नागरिक लाभान्वित भएका छन्।

ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित शिविरमा सामान्य चिकित्सा, बालरोग, छालारोग, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी तथा ट्रमा सर्जरी, मनोसामाजिक परामर्श र स्वास्थ्य सचेतनासम्बन्धी सेवा प्रदान गरिएको थियो। साथै, मुटुको स्वास्थ्यसम्बन्धी प्राथमिक सहायता (सीपीआर) तालिमसमेत सञ्चालन गरिएको थियो।

शिविरमा विभिन्न विधाका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीले सेवा प्रदान गरेका थिए। सशस्त्र प्रहरी बल नेपालका एसएसपी डा. भरत चन्द, डीएसपी डा. सबिना महर्जन, डीएसपी डा. हिमानी पौडेल, डा. निरोज कार्की, डा. सोनी नेवाः, डा. निशान्त श्रेष्ठ र डा. विशाल कुँवरलगायत चिकित्सक सहभागी थिए। माउन्टेन हार्ट नेपाल, महिला पुनर्स्थापना केन्द्र (वोरेक नेपाल) तथा नेपाली सेनाको बैरेनी ब्यारेकबाट खटिएका स्वास्थ्यकर्मीले पनि शिविर सञ्चालनमा सहयोग गरेका थिए।

शिविर संयोजक डा. राम थापा क्षेत्रीका अनुसार स्वास्थ्य परीक्षणका क्रममा जटिल प्रकृतिका रोग भएका १० जना बिरामीलाई थप परीक्षण तथा उपचारका लागि काठमाडौं रेफर गरिएको छ। महिलाहरूको पाठेघरको मुखको क्यान्सरसम्बन्धी स्क्रिनिङ परीक्षण गरिएको थियो भने पाठेघर खस्ने समस्या भएका पाँच जना महिलाको परीक्षण तथा उपचार गरिएको थियो। आँखासम्बन्धी समस्या भएका तीन जनालाई पनि थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ।

स्वास्थ्य सेवासँगै मानवीय सहायता र बालमैत्री गतिविधिलाई समेत प्राथमिकता दिइएको शिविरमा अत्यन्त विपन्न तथा सीमान्तकृत चेपाङ समुदायका नागरिकलाई ५१ बोरा खाद्यान्न र न्यानो कपडा वितरण गरिएको थियो। बालबालिकालाई मनोसामाजिक परामर्श दिनुका साथै बालमैत्री सिकाइसम्बन्धी गतिविधिसमेत सञ्चालन गरिएको थियो।

शिविरमा सहभागी नौ जना चिकित्सक र पाँच जना पारामेडिकल स्वास्थ्यकर्मीसहितको टोलीलाई गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, वडा नं. ६ का अध्यक्ष भक्तबहादुर लामा र वडा नं. ५ का अध्यक्ष बद्री जम्कट्टेललगायतले सम्मान गरेका थिए।

शिविरमा नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, माउन्टेन हार्ट नेपाल, वोरेक नेपाल, नवजीवन परोपकार समाज तथा कीर्तिगङ्गा मेडिकल सेन्टरलगायतका निकाय र संस्थाको प्राविधिक सहयोग तथा सहकार्य रहेको थियो।

शिविर संयोजक डा. राम थापा क्षेत्रीले ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकसम्म विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याउन यस्ता एकीकृत स्वास्थ्य शिविर प्रभावकारी हुने बताए। उनले रोगको प्रारम्भिक पहिचान, स्क्रिनिङ, आवश्यक उपचार तथा जटिल अवस्थाका बिरामीलाई समयमै थप उपचारका लागि रेफर गर्न यस्ता शिविरले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्यकर्मी तथा सामाजिक संघसंस्थाबीचको समन्वय र सहकार्यमा आगामी दिनमा स्वास्थ्य सेवाको पहुँच कम भएका अन्य क्षेत्रमा समेत यस्ता शिविर सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए।

एकीकृत स्वास्थ्य शिविरले गजुरी तथा आसपासका क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा, रोगको प्रारम्भिक पहिचान र आवश्यक उपचारका लागि रेफरल सेवा उपलब्ध गराउँदै ग्रामीण तथा सीमान्तकृत समुदायको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न सहयोग पुर्‍याएको छ।