बाढीपीडितका लागि १ हजार अस्थायी घर बनाउन सरकार र रेडक्रसबीच सम्झौता

21 पटक पढिएको

३० आश्विन २०८३, शुक्रबार ०९:०२ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । रसुवा–भोटेकोशी बाढीबाट प्रभावित तथा विस्थापित परिवारका लागि नेपाल रेडक्रस सोसाइटीले १ हजार अस्थायी  आवास निर्माण गर्ने भएको छ। बाढीपीडितको पुनस्थापनका लागि सहरी विकास तथा भवन निर्माण विभाग र नेपाल रेडक्रस सोसाइटीबीच सम्झौता भएको हो।

पूर्वाधार विकास मन्त्रालयमा आयोजित कार्यक्रममा विभागका महानिर्देशक दिलीप भण्डारी र रेडक्रसका महामन्त्री ऋषिरमण खनालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौता कार्यक्रममा नेपाल रेडक्रसका अध्यक्ष डा. विशालकुमार भण्डारी र रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी) का नेपाल प्रमुख डेभिड फिसरलगायतको उपस्थिति रहेको थियो।

सम्झौता अनुसार सुरक्षित जग्गा उपलब्ध भएका स्थानमा बाढी प्रभावित १ हजार परिवारका लागि स्वीकृत डिजाइन, लागत र तोकिएको मापदण्ड पालना गरी अस्थायी टहरा निर्माण गरिनेछ। तत्काल भाडाको घर वा व्यक्तिगत आवासको प्रबन्ध हुन नसकेका परिवारका लागि सुरक्षित स्थानमा सामूहिक बसोबासको व्यवस्था मिलाइनेछ। स्थानीय तहसँगको समन्वयमा आवास क्षेत्रमा खानेपानी, सरसफाइ, ढल निकास र विद्युत् सेवा विस्तारमा समेत रेडक्रसले सघाउनेछ।

यसैगरी, सरकारको पुनर्निर्माण तथा पुनर्वास कार्ययोजना अनुसार थप १ हजार लाभग्राही परिवारका लागि स्थायी घर निर्माण गर्ने विषय पनि सम्झौतामा समेटिएको छ। स्थानीय सरकारबाट प्रमाणित २ हजार २०० परिवारलाई १ वर्षसम्म घरभाडा सहायता उपलब्ध गराउने प्रस्तावका सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र अन्य सम्बद्ध निकायहरूसँग सहजीकरण गरिने भएको छ।