अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो अन्तर्राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा बद्री खतिवडा सर्वसम्मत

203 पटक पढिएको

२ कार्तिक २०८३, आईतवार ०५:०५ सम्पादक: धादिङ न्यूज

धादिङबेँसी – “जहाँ धादिङवासी, त्यहीँ धादिङ समाज” भन्ने मूल नाराका साथ सामाजिक कार्य र सङ्गठन विस्तारमा सक्रिय अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो अन्तर्राष्ट्रिय महाधिवेशन धादिङ जिल्लाको सदरमुकाम धादिङबेँसीमा शनिवार राती सम्पन्न भएको छ।

महाधिवेशनले समाजको नयाँ अध्यक्षमा बद्री खतिवडालाई सर्वसम्मत रूपमा निर्वाचित गरेको छ। धादिङको गल्छी गाउँपालिका–२, बेलिनीटार स्थायी घर भई हाल अमेरिकामा रहँदै आएका खतिवडा धादिङ समाज अमेरिकाका सल्लाहकारसमेत हुन्। अध्यक्ष पदका लागि अस्ट्रेलियाका विनोद उप्रेती, अमेरिकाका बद्री खतिवडा र जापानका राजेन्द्र श्रेष्ठले उम्मेदवारी दिएका थिए। तर, अन्तिममा गहन छलफल र सहमतिपछि खतिवडाको नेतृत्वमा सर्वसम्मत टोली चयन गरिएको हो।

नयाँ चयन भएको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ तथा उपाध्यक्षहरूमा बाबुकाजी भण्डारी, पारस भण्डारी, शान्ता सिखडा र विनोद उप्रेती निर्वाचित हुनुभएको छ। यस्तै महिला उपाध्यक्षमा रञ्जना भण्डारी चयन हुनुभएको छ। संस्थाको महासचिव पदमा कल्याण विक्रम कार्की निर्वाचित हुनुभएको छ भने सचिवहरूमा दिनेश बोहोरा, राजेन्द्र थपलिया, दिवाकर दाहाल र सोमनाथ कँडेल तथा महिला सचिवमा कविता दाहाल चयन हुनुभएको छ।

कार्यसमितिको कोषाध्यक्षमा रामकुमार थापा तथा सहकोषाध्यक्षमा दीपक चन्द्र भट्ट र छन्दप्रसाद सिलवाल निर्वाचित हुनुभएको छ। युवा संयोजकको जिम्मेवारी सुदिप सी. विष्ट र श्यामहरी तिमल्सिनाले पाउनुभएको छ।

त्यस्तै कार्यसमिति सदस्यहरूमा सुमन बुद्ध परियार, विक्रम गरन्जा, संगम तामाङ, विष्णुमाया सिखडा, शिव सिटौला, पुष्प लामिछाने, सेल्बा लामा तामाङ र गोविन्द राना मगर सर्वसम्मत रूपमा चयन हुनुभएको छ।

संस्थाको विधानअनुसार नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष १, महिला उपाध्यक्ष १, उपाध्यक्ष ४, महासचिव १, सचिव ३, कोषाध्यक्ष १ र सह-कोषाध्यक्ष १ जना गरी मुख्य पदाधिकारी रहने व्यवस्था छ। यसका साथै प्रवक्ता, युवा संयोजक, प्रेस संयोजक १/१ जना र १० जना सदस्यहरू गरी नयाँ कार्यसमिति पूर्ण गरिनेछ।

विश्वका २३ देशमा छरिएर रहेका धादिङवासी प्रतिनिधिहरूको प्रत्यक्ष सहभागिता रहेको उक्त महाधिवेशन समाजका अध्यक्ष राजन खकुरालको अध्यक्षतामा भएको थियो। महाधिवेशनको उद्घाटन धादिङ क्षेत्र नम्बर २ का सांसद एवं संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठ र सङ्घीय सरकारका पूर्वमन्त्री रामनाथ अधिकारीले संयुक्त रूपमा दीप प्रज्ज्वलन गरी गर्नुभएको थियो।