मलेखु पुल पुनर्निर्माणमा ढिलाइ: स्थानीय र संघीय जनप्रतिनिधिबीच आरोप-प्रत्यारोप
4 पटक पढिएको
धादिङ- गत भदौ १० गते फुर्केखोलाको पुल बाढीले बगाएपछि धादिङको सदरमुकाम धादिङबेसीलाई राष्ट्रिय राजमार्ग (पृथ्वी राजमार्ग) सँग जोड्ने यातायात सेवा प्रभावित बनेको छ। पुल निर्माणमा ढिलाइ भएको विषयलाई लिएर स्थानीय र संघीय जनप्रतिनिधिबीच सार्वजनिक रूपमै आरोप-प्रत्यारोप सुरु भएको छ।
शनिबार धादिङबेसीमा आयोजित अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशनलाई सम्बोधन गर्दै नेपाल नगरपालिका संघका अध्यक्ष एवं नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानाले संघीय सरकारको कार्यशैलीप्रति कटाक्ष गरे। बाढीले फुर्केखोलाको पुल बगाएपछि टुटेको सडक संजाल पुनः जोड्न संघीय र प्रदेश सरकारले चासो नदिएको उनको आरोप थियो।
मेयर ढुंगानाले भने, “बाढीले बगाएको मलेखुको पुल बनाउन संघीय र प्रदेश सरकारले हात झिके भने हामी स्थानीय सरकार मिलेर फेरी राखेर भए पनि गाडी तार्छौँ। बेलिब्रिज राख्ने क्षमता स्थानीय तहको नभए पनि पुरानो जमानाको फेरी निर्माण गरेर भए पनि यातायात सञ्चालनमा ल्याउँछौँ।”
मेयर ढुंगानाको भनाइको जवाफ दिँदै प्रतिनिधि सभाको संसदीय सुनुवाइ समितिका सभापति एवं धादिङ क्षेत्र नं. २ का सांसद बोधनारायण श्रेष्ठले स्थानीय सरकारले आफ्नो जिम्मेवारी पूरा नगरी संघीय सरकारलाई मात्र दोष दिएको दाबी गरे।
श्रेष्ठले प्रतिप्रश्न गर्दै भने, “देशमा तीन तहका सरकार छन्। के यो देशमा केन्द्र सरकार मात्रै हो र? अरू सरकार सबै फेल भइसकेका हुन्? १० मिटरको पुल हाल्न पनि म नै उभिनुपर्ने हो?” उनले सुशासन, भ्रष्टाचार नियन्त्रण र राजनीतिक परिवर्तनको मुद्दा मुख्य भएको उल्लेख गर्दै साना आयोजनाहरूमा स्थानीय तह र वडाहरूले पनि जिम्मेवारी लिनुपर्ने बताए।
सोही कार्यक्रममा पूर्वमन्त्री रामनाथ अधिकारीले वैकल्पिक मार्गको यात्रा निकै सास्तीपूर्ण र असहज रहेको भन्दै तत्काल संघीय सरकारले ध्यान दिएर फुर्केखोलामा पुल वा बेलिब्रिज निर्माणको काम अघि बढाउन माग गरे।
पृथ्वी राजमार्गबाट कालुपाण्डे मार्ग जोड्ने फुर्केखोलाको पक्की पुल बाढीले बगाएपछि धादिङबेसीबाट पृथ्वी राजमार्ग पुग्न स्थानीयले सास्ती खेप्नु परेको छ।
विगतमा २५ मिनेटमै पुगिने दूरी पार गर्न अहिले वैकल्पिक मार्ग (परेवाटार-मास्टार सडक) प्रयोग गर्दा डेढ घण्टाभन्दा बढी समय लाग्ने गरेको छ। साँघुरो सडक र सवारी साधनको उच्च चापका कारण वैकल्पिक मार्गको यात्रा निकै जोखिमपूर्ण र कष्टकर बनेको छ। स्थानीय बासिन्दाहरूले तत्काल सो स्थानमा बेलिब्रिज जडान गर्न सरकारसँग माग गर्दै आएका छन्।
संघीय सरकारका प्रतिनिधि मात्रै होइन सरकारमा रहेको दलका नेता कार्यकर्ताले समेत फुर्केखोलामा पुलको आवाज उठाउनेहरु बिरुद्ध संगठीत प्रहार गर्दै आईरहेका छन् ।







