सांसद उर्मिला थपलियाको डेरामा चोरी, सुन र नगद चोरिएको घटनामा तीन जना पक्राउ

6 पटक पढिएको

१० कार्तिक २०८३, सोमबार ०६:३५ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली कांग्रेसकी समानुपातिक सांसद उर्मिला थपलियाको काठमाडौंस्थित डेरामा चोरी भएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।

काठमाडौं महानगरपालिका–१४, कलङ्कीस्थित थपलियाको डेराबाट दसैँको बिदाका बेला ८ तोला सुन र ८० हजार रुपैयाँ नगद चोरी भएको थियो। परिवारका सदस्यहरू दसैँ मनाउन जिल्ला गएको मौका पारेर चोरी भएको प्रहरीको भनाइ छ। घटनाबारे कात्तिक ५ गते प्रहरीलाई जानकारी गराइएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेका अनुसार चोरीमा संलग्न रहेको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ।

यसैबीच, कात्तिक ६ गते कलङ्कीकै नीरज नेपालको घरमा पनि चोरी भएको थियो। उक्त घरबाट १३९ तोला चाँदी, एक तोला सुन र १० हजार रुपैयाँ नगद चोरी भएको थियो।

प्रहरीका अनुसार सांसद थपलियाको डेरा र नेपालको घरमा भएका दुवै चोरीका घटनामा एउटै समूहको संलग्नता रहेको आशंका गरिएको छ। घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छैन। दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।