सांसद उर्मिला थपलियाको डेरामा चोरी गरेकोआरोपमा आमा छोरासहित चार भारतीय पक्राउ

48 पटक पढिएको

१२ कार्तिक २०८३, बुधबार ०४:५२ सम्पादक: धादिङ न्यूज

काठमाडौं । काठमाडौंको कलंकी क्षेत्रमा घर तथा फ्ल्याटमा कोही नभएको मौका पारेर चोरी गरेको आरोपमा चार भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा आमा छोरासहित भारतको बिहारस्थित समस्तीपुरका चार जना रहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा २५ वर्षीय विकास पोदार, १९ वर्षीय राजुकुमार भन्ने राजु पोदार, २३ वर्षीय राजेन्द्र पोदार भन्ने राजेन्द्र कुमार र ४६ वर्षीया विणा देवी रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले गत कात्तिक ६ र ७ गते कलंकी क्षेत्रका दुई फरक घरमा चोरी गरेको खुलेको छ। दसैँ बिदाको मौका छोपेर काठमाडौं महानगरपालिका–१४, कलंकीस्थित सांसद उर्मिला थपलियाको डेरामा समेत चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरूको संलग्नता खुलेको हो।

उक्त घटनामा डेराबाट आठ तोला सुन र ८० हजार रुपैयाँ नगद चोरी भएको थियो। अनुसन्धानका क्रममा प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट चोरी गरिएका सुनचाँदीका गरगहना तथा नगदसमेत बरामद गरेको जनाएको छ।

घर तथा फ्ल्याटमा कोही नभएको मौका पारेर चोरी गरेको आरोपमा पक्राउ परेका चारै जनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।