नेपाली कांग्रेस धादिङको नियमित महाधिवेशन पक्षधरभित्र महाधिवेशन प्रतिनिधि छनोटलाई लिएर असन्तुष्टि नाम सार्वजनिक नगरेका विश्वकर्माले भने– ‘स्मार्ट युवा छानेका छौँ’

49 पटक पढिएको

१३ कार्तिक २०८३, बिहीबार १२:०६ सम्पादक: धादिङ न्यूज

धादिङ । नियमित महाधिवेशन पक्षधर नेपाली कांग्रेस धादिङको नियमित जिल्ला अधिवेशन नजिकिँदै गर्दा महाधिवेशन प्रतिनिधि छनोटलाई लिएर विवाद चुलिएको छ। क्षेत्र नम्बर २ मा भेला भएको लामो समय बितिसक्दा पनि छनोट गरिएका महाधिवेशन प्रतिनिधिको नाम सार्वजनिक हुन सकेको छैन। जिल्ला संयोजक गोपाल विश्वकर्माले आफूहरूले ‘स्मार्ट युवा’लाई महाधिवेशन प्रतिनिधि बनाएको बताए पनि नाम भने सार्वजनिक गर्न चाहेनन्।

गत असोज २४ गते धादिङबेसीमा क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि छनोटका लागि भेला बोलाइएको थियो। तर उक्त भेलाबाट प्रतिनिधि चयन नगरिएको र त्यसपछि जिल्ला संयोजक विश्वकर्माले आफूखुसी नाम छनोट गरेको भन्दै आकांक्षीहरूले असन्तुष्टि जनाएका छन्। प्रतिनिधि छनोटको प्रक्रिया, मापदण्ड र चयन भएका व्यक्तिको नाम सार्वजनिक नभएपछि पार्टीभित्र प्रश्न उठ्न थालेको हो।

केन्द्रीय महाधिवेशन प्रतिनिधि बन्न आकांक्षा राखेकाले आफूहरूको आकांक्षालाई बेवास्ता गरिएको गुनासो गरेका छन्। भेलाबाटै प्रतिनिधि छनोट हुनुपर्नेमा त्यसो नभएको र पछि चयन गरिएका भनिएका प्रतिनिधिको नामसमेत सार्वजनिक नगरिएको उनीहरूको असन्तुष्टि छ।

प्रतिनिधि छनोटबारे प्रश्न उठेपछि जिल्ला संयोजक विश्वकर्माले जिल्ला अधिवेशनको तयारीबारे जानकारी दिन कात्तिक १४ गते पत्रकार सम्मेलन आयोजना गरिने र सोही क्रममा महाधिवेशन प्रतिनिधिको नाम सार्वजनिक गरिने बताएका छन्। कात्तिक १५ गते हुने जिल्ला अधिवेशनको अघिल्लो दिन पत्रकार सम्मेलन गरेर सबै नाम सार्वजनिक गर्ने उनको भनाइ छ।

विश्वकर्माले आफूहरूले ‘स्मार्ट युवा’लाई महाधिवेशन प्रतिनिधि बनाएको बताए पनि तत्काल नामावली दिन भने चाहेनन्। युवा नेतृत्वलाई प्राथमिकता दिने घोषणा गरिरहेका संयोजकले प्रतिनिधि छनोटको मापदण्ड र नाम सार्वजनिक नगर्दा प्रक्रियाको पारदर्शितामाथि प्रश्न उठिरहेको छ।

नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनलाई लिएर दुई धार देखिएका बेला धादिङमा जिल्ला नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षले आगामी कात्तिक १५ गते धादिङमा १५औँ नियमित जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ। अधिवेशनमा नेता प्रकाशमान सिंह प्रमुख अतिथिका रूपमा सहभागी हुने बताइएको छ।

जिल्ला सभापति बन्न वर्तमान संयोजक गोपाल विश्वकर्मादेखि पूर्व जिल्ला पदाधिकारी, प्रदेशसभा सदस्य र युवा नेतासम्मले आकांक्षा देखाएका छन्। आकांक्षीमा विश्वकर्मा, पूर्व जिल्ला उपसभापति रामकृष्ण अधिकारी, बागमती प्रदेशसभा सदस्य एवं पूर्व जिल्ला सचिव गोविन्द लम्साल, महासमिति सदस्य तथा तरुण दलका पूर्व जिल्ला अध्यक्ष दिनेशबहादुर गुरुङ, बागमती प्रदेश सदस्य एवं स्वास्थ्य विभाग प्रमुख डा. अमित सिंह कार्की, महाधिवेशन प्रतिनिधि एवं नेविसंघका पूर्व अध्यक्ष रवि सुदन थापा र जिल्ला कार्यसमिति सदस्य नारायणप्रसाद पोखरेल रहेका छन्।

आकांक्षीहरूमध्ये विश्वकर्मा र लम्सालको नाम चर्चामा छ। वर्तमान संयोजक विश्वकर्मा पूर्ण कार्यकालका लागि जिल्ला सभापति बन्ने तयारीमा छन्। पार्टीको संकटपूर्ण अवस्थामा जिल्लाको जिम्मेवारी सम्हालेका उनलाई पछि पारेर अन्य नेताहरू नेतृत्वमा पुग्न खोजेको चर्चा पनि पार्टीभित्र छ।

विश्वकर्मामाथि लामो समय तरुण दल धादिङको अध्यक्ष रहँदा जिल्ला अधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्न नसकेको आरोप लाग्दै आएको छ। अर्कोतर्फ, लम्सालमाथि परिवारवादलाई प्राथमिकता दिएको भन्ने आलोचना हुने गरेको छ। लम्साल बागमती प्रदेशसभा सदस्य तथा कांग्रेस धादिङका पूर्व जिल्ला सचिव हुन्। पार्टीभित्रका प्रभावशाली नेताहरूसँगको निकटताका आधारमा राजनीतिक अवसर पाएको र महाधिवेशन प्रतिनिधिमा पराजित हुने डरले देउवा पक्षमा लागेको आरोपसमेत केही आलोचकले लगाउने गरेका छन्।

जिल्ला संयोजक विश्वकर्माले कांग्रेस धादिङका १०४ वटै वडामा ४५ वर्षभन्दा कम उमेरका युवालाई नेतृत्वमा ल्याउने घोषणा गरेका छन्। उनले जनसङ्ख्याका आधारमा पूर्ण समानुपातिक र समावेशी अवधारणाअनुसार पार्टीका जिम्मेवारी तथा निर्वाचित पदमा वैज्ञानिक ढङ्गले जिम्मेवारी बाँडफाँट गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

तर युवा नेतृत्व र समावेशी प्रतिनिधित्वको घोषणा गरिरहेका विश्वकर्माले क्षेत्र नम्बर २ बाट छनोट गरिएका भनिएका महाधिवेशन प्रतिनिधिको नाम सार्वजनिक नगर्दा उनको प्रतिबद्धता कसरी कार्यान्वयन हुन्छ भन्ने प्रश्न उठेको छ। प्रतिनिधि छनोटको मापदण्ड र नामावली सार्वजनिक भएमा प्रक्रियाबारे उठेका प्रश्न स्पष्ट हुने असन्तुष्ट पक्षको अपेक्षा छ।

विश्वकर्माको नेतृत्वमा वडा तथा पालिका तहका अधिवेशन सम्पन्न भइसकेका छन्। अब कात्तिक १५ गते जिल्ला समन्वय समिति भवनमा हुने भनिएको १५औँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। अधिवेशनको अघिल्लो दिन कात्तिक १४ गते हुने पत्रकार सम्मेलनमा महाधिवेशन प्रतिनिधिको नाम सार्वजनिक गर्ने विश्वकर्माको भनाइले प्रतिनिधि छनोटसम्बन्धी विवादमा थप चासो बढाएको छ।

जिल्ला सभापतिका आकांक्षीहरूबीच प्रतिस्पर्धा बढिरहेका बेला प्रतिनिधि छनोटमा पारदर्शिता, नामावली सार्वजनिक गर्ने विषय र सबै पक्षलाई समेट्ने प्रक्रियाले अधिवेशनको वातावरण निर्धारण गर्ने देखिन्छ।