भोटेकोसी बाढीले क्षति गरेको फुर्केखोलाको पुल र्निर्माण र सडक स्तरोन्नतिका लागि महत्त्वपूर्ण सहमति भएको सांसद श्रेष्ठ द्वारा जानकारी
48 पटक पढिएको
धादिङ । भोटेकोसी बाढीबाट क्षतिग्रस्त फुर्के खोलाको पुल लगायत अन्य पक्की पुल पुनर्निर्माण तथा धादिङका विभिन्न सडक स्तरोन्नतिका लागि सहमति भएको छ।
धादिङ क्षेत्र नम्बर २ का सांसद बोध नारायण श्रेष्ठले बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र पूर्वाधार विकास मन्त्री सुनील लम्सालसँग भएको बैठकमा विभिन्न योजनाबारे सहमति भएको जानकारी दिनुभएको हो।
सहमति अनुसार फुर्केखोलामा आधुनिक प्रविधियुक्त पक्की सिग्नेचर पुल निर्माणका लागि तत्काल टेन्डर प्रक्रिया सुरु गरिनेछ भने घाटबेँसी पुल निर्माणको काम पनि तत्काल अघि बढाइनेछ।
त्यसैगरी मास्टर–पिपलटार–परेवाटार, गल्छी–फोस्रेटार–सुनौलाबजार–धादिङबेँसी, फोस्रेटार–कोशीखोला–खाल्टे, धादिङबेँसी–साङ्कोष–तिप्लिङ र ज्वालामुखी–बुङ्कोटघाट–बेनीघाट सडक स्तरोन्नति गर्ने सहमति भएको सांसद श्रेष्ठले उल्लेख गर्नुभएको छ।
भोटेकोसी बाढीपछि पुल तथा सडक क्षतिग्रस्त हुँदा धादिङका नागरिकले लामो समयदेखि आवागमनमा ठूलो सास्ती खेप्दै आएका छन्। विशेषगरी पुल निर्माण र वैकल्पिक सडक स्तरोन्नतिको विषयमा नागरिकले निरन्तर चासो र दबाब दिँदै आए पनि ठोस पहल तथा गहन छलफल हुन नसक्दा निराशा बढ्दै गएको थियो।
पुलर्निर्माण र सडक स्तरोन्नतिबारे भएको पछिल्लो सहमतिले स्थानीयमा थोरै आशा जगाएको छ। यद्यपि, सहमति कार्यान्वयनमा कहिले जाने, आवश्यक बजेट कति छुट्याइने र निर्माण कहिलेदेखि सुरु हुने भन्ने विषय भने सार्वजनिक हुन भने बाँकी छ। सांसद श्रेष्ठले बजेट, कार्यप्रक्रिया र समयसीमाबारे थप विवरण यथाशीघ्र सार्वजनिक गर्ने बताउनु भएको छ।







