सुनकोशी–मरिण डाइभर्सनका आयोजना निर्देशक रिजाल कार्यकक्षबाटै पक्राउ

9 पटक पढिएको

१४ कार्तिक २०८३, शुक्रबार २१:०४ सम्पादक: धादिङ न्यूज

सिन्धुली । राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यालयकै कार्यकक्षबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले बिहीबार उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो।

प्रहरी स्रोतका अनुसार रिजाललाई अनुसन्धानका लागि पक्राउ गरिएको हो। तर उनीमाथि कुन विषयमा अनुसन्धान भइरहेको छ र पक्राउ गर्नुको ठोस कारण के हो भन्नेबारे प्रहरीले औपचारिक जानकारी दिएको छैन।

रिजालको पक्राउ आयोजना निर्माणको महत्वपूर्ण ठेक्का प्रक्रियासँग जोडिएको हुन सक्ने आशंका गरिएको छ। आयोजनाको बाँकी हेडवर्क तथा विद्युत् गृह निर्माणका लागि आह्वान गरिएको ठेक्काको आर्थिक प्रस्ताव आगामी सोमबार खोल्ने कार्यतालिका थियो। उक्त प्रक्रिया अघि बढ्न लागेकै बेला आयोजना निर्देशक पक्राउ परेका हुन्। यद्यपि पक्राउ र ठेक्का प्रक्रियाबीच कुनै सम्बन्ध रहेको पुष्टि भएको छैन।

आयोजनाको बाँकी निर्माण कार्यका लागि आह्वान गरिएको ठेक्कामा ६ वटा निर्माण कम्पनीले आवेदन दिएका थिए। तीमध्ये तीनवटा कम्पनी प्राविधिक मूल्यांकनमा उत्तीर्ण भएका छन्। प्राविधिक मूल्यांकन पास गर्नेमा चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन बेइजिङ, अन्नेग आरसिसी जेभी र सिनोहाइड्रो कर्पोरेसन चाइना रहेका छन्।

यी तीन कम्पनीको आर्थिक प्रस्ताव खोल्ने सूचना आयोजनाले असोज २७ गते राष्ट्रिय दैनिक ‘द राइजिङ नेपाल’ मा प्रकाशित गरेको थियो। आर्थिक प्रस्ताव सोमबार खोल्ने तयारी गरिएको थियो।

आयोजनाका सूचना अधिकारी अशोकराज गौतमले भने आयोजना निर्देशक पक्राउ परेको विषयमा कार्यालय नै अनभिज्ञ रहेको बताएका छन्। उनका अनुसार रिजाललाई कार्यालयबाटै लगिएको भए पनि कार्यालयका अन्य कर्मचारीले तत्काल जानकारी पाएका थिएनन्।

‘कार्यालयबाटै लगिएछ, हामीले पनि थाहा पाएनौँ, पछि मात्र थाहा भयो,’ गौतमले भने।

गौतमका अनुसार आयोजना प्रमुख वा आयोजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत कुनै निकायमा मुद्दा रहेको जानकारी कार्यालयलाई छैन।

राष्ट्रिय गौरवको आयोजनाको नेतृत्व गरिरहेका निर्देशक नै कार्यालयबाट पक्राउ परेपछि पक्राउको कारण, अनुसन्धानको विषय र निर्माण ठेक्का प्रक्रियामा पर्न सक्ने प्रभावबारे चासो बढेको छ। प्रहरीले भने यस विषयमा औपचारिक विवरण सार्वजनिक गर्न बाँकी छ।