देशका विभिन्न स्थानमा वर्षा जारी, आज अपराह्नदेखि मौसममा सुधार आउने

53 पटक पढिएको

१५ कार्तिक २०८३, शनिबार ०७:०९ सम्पादक: धादिङ न्यूज

काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको संयुक्त प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको प्रभाव बढी देखिएको छ। शनिबार अपराह्नदेखि चक्रवातको प्रभाव कमजोर हुँदै मौसममा क्रमिक सुधार आउने पूर्वानुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार जारी गरेको मौसम विवरणअनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि वर्षा भएको छ। देशका अधिकांश स्थानमा बदली रहेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। केही स्थानमा भारी वर्षा वा हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

मौसमविद् डेभिड ढकालका अनुसार भारतमा शक्तिशाली रहेको चक्रवात नेपालसम्म आइपुग्दा कमजोर बनेको छ। यद्यपि, चक्रवातको अवशेष र पश्चिमी वायुको संयुक्त प्रभावले नेपालमा वर्षा तथा हिमपात भइरहेको छ। शनिबार कात्तिक १४ गते अपराह्नदेखि मौसममा क्रमिक सुधार आउने भए पनि सबै स्थानमा एकैपटक वर्षा रोकिने अवस्था नरहेको उहाँले बताउनुभयो।

महाशाखाको पूर्वानुमानअनुसार शनिबार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। ती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।

त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

शनिबार रातिदेखि वर्षाको गतिविधि क्रमशः घट्ने र आइतबार कात्तिक १५ गते देशका अधिकांश स्थानमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। आइतबार पनि पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ।

विभागको शुक्रबारको विवरणअनुसार पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकको रोशी मौसम मापन केन्द्रमा ५० दशमलव २ मिलिमिटर वर्षा मापन गरिएको छ। विभागको अनलाइन वर्षा मापन विवरणमा भोजपुरको लेगुवाघाट केन्द्रमा पछिल्लो २४ घण्टाको अधिकतम वर्षा ५७ दशमलव ४ मिलिमिटर देखिएको छ।

निरन्तर वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो जाने, सडक अवरुद्ध हुने तथा नदी र खोलामा पानीको बहाव बढ्ने जोखिम रहेको छ। विशेषगरी बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी सडकमा यात्रा गर्दा सावधानी अपनाउनुपर्ने देखिएको छ।

उच्च हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिमलाई ध्यानमा राख्दै अनावश्यक यात्रा नगर्न र सुरक्षित स्थानमा रहन महाशाखाले आग्रह गरेको छ।

मौसम प्रतिकूल रहेकाले धानबाली भित्र्याउने तथा खुला स्थानमा गरिने कृषि कार्यमा समेत सावधानी अपनाउन विभागले सुझाव दिएको छ। वर्षा र चट्याङको समयमा खुला स्थान, नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नबस्न र मौसमसम्बन्धी सूचनामा ध्यान दिन आग्रह गरिएको छ।

मौसम तथा बाढीसम्बन्धी थप जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको निःशुल्क फोन नम्बर ११५५ मा सम्पर्क गर्न सकिनेछ।