धादिङका १३ पालिकाको पहलमा फुर्केखोलामा पन्टुन पुल ल्याइँदै
43 पटक पढिएको
धादिङ । भोटेकोसी बाढीले त्रिशूली नदीमाथिको पक्की पुल बगाएपछि दुई महिनादेखि सडक सम्पर्क विच्छेदको समस्या भोगिरहेका धादिङका आठ स्थानीय तहका बासिन्दालाई राहत दिने उद्देश्यले फुर्केखोलामा अस्थायी पन्टुन पुल (तैरिने पुल) जडान गरिने भएको छ। धादिङका १३ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको संयुक्त पहलमा बर्दियाको राजापुरमा रहेको पन्टुन पुल ल्याएर फुर्केखोलामा जडान गर्ने तयारी अघि बढाइएको हो।
भदौ १० गते भोटेकोसीमा आएको बाढीले धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ र सिद्धलेक गाउँपालिका ६ जोड्ने फुर्केखोलास्थित त्रिशूली नदीमाथिको पक्की पुल बगाएपछि पृथ्वी राजमार्गसँग धादिङका विभिन्न आठ स्थानीय तहको सडक सम्पर्क प्रभावित भएको थियो। पुल बगाएको दुई महिनासम्म पनि पुलको बैकल्पिक उपायहरुका वारेमा संघीय सरकारले खासै चासो नदेखाएपछि तत्काल यातायात सञ्चालन गर्ने वैकल्पिक उपायका रूपमा पन्टुन पुलको खोजी गरिएको हो।
बर्दियाको राजापुर सिँचाइ व्यवस्थापन कार्यालयअन्तर्गत रहेको पन्टुन पुल फुर्केखोलामा ल्याएर अस्थायी रूपमा जडान गर्ने प्रयास अन्तिम चरणमा पुगेको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले जानकारी दिनुभयो।
अध्यक्ष दनैका अनुसार धादिङका १३ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको संयुक्त पहल र समन्वयमा वैकल्पिक पुलको व्यवस्था गर्न लागिएको हो। यसैक्रममा सम्बन्धित कार्यालयसँगको समन्वयमा प्राविधिक टोलीले फुर्केखोलामा स्थलगत निरीक्षण गरी पुल जडान गर्न सकिने अवस्था र आवश्यक प्राविधिक पक्षबारे अध्ययन गरेको छ।
प्राविधिक टोलीले सम्भाव्यता अध्ययन गरी जडान गर्न सकिने निष्कर्ष दिएपछि पुल ल्याउने र जडान गर्ने प्रक्रिया अघि बढाइएको अध्यक्ष दनैले बताउनुभयो। सबै प्रक्रिया अनुकूल भएमा केही दिनभित्रै पुल जडान सम्पन्न गरी स्थायी पुल निर्माण नहुँदासम्मका लागि यातायात सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उहाँको भनाइ छ।
बाढीले फुर्केखोलाको पुलसहित त्रिशूली नदी वारपार गर्ने चारवटा पक्की पुलमा क्षति पुर्याएपछि धादिङबेसी र पृथ्वी राजमार्गबीचको सडक सम्पर्कमा गम्भीर असर परेको थियो। यसबाट धादिङका आठ स्थानीय तहका नागरिक प्रत्यक्ष प्रभावित भएका छन्। एम्बुलेन्स, बिरामी बोकेका सवारीसाधन, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने सवारीसाधनसमेत वैकल्पिक र लामो दूरीका जोखिमपूर्ण सडक प्रयोग गर्न बाध्य छन्।
पृथ्वी राजमार्गसँगको सहज सम्पर्क टुटेपछि स्थानीयवासीले दैनिक आवतजावतदेखि कृषि उपजको बजारीकरणसम्म समस्या भोग्दै आएका छन्। पन्टुन पुल सञ्चालनमा आएमा स्थायी पुल निर्माण नहुँदासम्म सवारी आवागमनलाई सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
के हो पन्टुन पुल ?
पन्टुन पुल पानीमा तैरिने संरचनाको सहायताले निर्माण गरिने अस्थायी पुल हो। यसलाई तैरिने पुल पनि भनिन्छ। सामान्य पक्की पुलजस्तो नदीको पिँधमा गहिरो जग र पिलर निर्माण गर्नुपर्ने आवश्यकता पर्दैन। पानीमा तैरिन सक्ने विशेष संरचना वा फलामका पन्टुनलाई एकआपसमा जोडेर त्यसको माथि सवारीसाधन तथा मानिस आवतजावत गर्न मिल्ने सतह तयार गरिन्छ।
प्राविधिकहरूका अनुसार यस्तो पुल तुलनात्मक रूपमा कम समय र कम लागतमा जडान गर्न सकिन्छ। आवश्यकताअनुसार फुकालेर अर्को स्थानमा लैजान पनि सकिन्छ। तर नदीमा पानीको बहाव अत्यधिक बढ्ने, बाढी आउने वा जलस्तरमा ठूलो परिवर्तन हुने अवस्थामा यसको सुरक्षामा चुनौती आउन सक्छ। त्यसैले पुल सञ्चालनका लागि नदीको बहाव, जलस्तर, भारवहन क्षमता र सुरक्षाका प्राविधिक मापदण्डको पालना आवश्यक हुन्छ।
यसैबीच संघीय सरकारले पनि फुर्केखोलामा स्थायी पुल निर्माणको प्रक्रिया अघि बढाउने तयारी गरेको छ। धादिङ क्षेत्र नम्बर २ का सांसद बोधनारायण श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत फुर्केखोलामा सिग्नेचर ब्रिज निर्माणका लागि बोलपत्र आह्वान गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ।
सांसद श्रेष्ठका अनुसार त्रिशूली नदी वारपार गर्ने घाटबेसीस्थित पक्की पुल निर्माण तथा अन्य पाँचवटा सडक स्तरोन्नतिका लागि आवश्यक बजेट व्यवस्थापन र कार्यप्रक्रिया अघि बढाउने विषयमा पनि पहल भइरहेको छ।
फुर्केखोलामा स्थायी पुल निर्माणको प्रक्रिया अघि बढ्ने र त्यसबीचमा पन्टुन पुलमार्फत अस्थायी यातायात सञ्चालन गर्न सकिने भएपछि लामो समयदेखि सास्ती भोगिरहेका धादिङवासीमा केही आशा पलाएको छ।
स्थायी पुल निर्माण सम्पन्न हुन अझै समय लाग्न सक्ने भएकाले अस्थायी पन्टुन पुल सञ्चालनमा आएमा धादिङका आठ स्थानीय तहलाई पृथ्वी राजमार्गसँग जोड्ने आवागमन सहज हुने अपेक्षा गरिएको छ।







