पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त
23 पटक पढिएको
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका तत्कालीन सचिव टोपबहादुर रायमाझी बिहीबार बिहान जेलमुक्त भएका छन् । ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कानुनी कैद छुट सुविधाअन्तर्गत उनी डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।
डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालका अनुसार काठमाडौँ जिल्ला अदालतको आदेश र संशोधित कैदीपुर्जीका आधारमा रायमाझीलाई कैदमुक्त गरिएको हो । कारागार स्रोतका अनुसार बिहीबार बिहान उनलाई श्रीमती र परिवारका सदस्यहरूको जिम्मा लगाएर पठाइएको थियो । तिहारअघि नै अदालतबाट रिहाइसम्बन्धी पत्राचार प्राप्त भएकाले आवश्यक प्रक्रिया पूरा गरी उनलाई बिहीबार रिहा गरिएको जेलर अर्यालले पुष्टि गरे ।
रिहाइका बेला उनलाई लिन कारागार पुगेका लिला केसीका अनुसार बुधबार नै कैद अवधि पूरा भए पनि प्रशासनिक प्रक्रियाका कारण बिहीबार बिहान ७ बजे उनी कारागारबाट बाहिरिएका हुन् । कारागारबाट निस्किएलगत्तै सातदोबाटोस्थित निवास पुगेका रायमाझीलाई परिवार तथा आफन्तले टीकामाला लगाएर स्वागत गरेका थिए । केही दिन काठमाडौँमै आराम गरेपछि उनी गृहजिल्ला अर्घाखाँची जाने तयारीमा रहेको पारिवारिक स्रोतले जनाएको छ ।
रायमाझीले आफू ६५ वर्ष उमेर पूरा भइसकेको भन्दै ज्येष्ठ नागरिकले पाउने कैद छुट सुविधा उपलब्ध गराउन अदालतमा निवेदन दिएका थिए । सोही निवेदनमाथि सुनुवाइ गर्दै काठमाडौँ जिल्ला अदालतले संशोधित कैदीपुर्जी जारी गरी कारागार कार्यालयलाई पत्राचार गरेको थियो ।
नेपालको विद्यमान कानुनी व्यवस्थाअनुसार ६५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिक कैदीबन्दीले असल चालचलनका आधारमा तोकिएको कुल कैद सजायमा २५ प्रतिशत छुट पाउने प्रावधान छ । यसअनुसार रायमाझीलाई सुनाइएको कुल ४ वर्ष अर्थात् ४८ महिनाको कैद सजायमा २५ प्रतिशतले हुन आउने १ वर्ष अर्थात् १२ महिना छुट प्राप्त भयो । जसकारण उनको भुक्तान गर्नुपर्ने वास्तविक कैद अवधि ३ वर्ष अर्थात् ३६ महिना कायम हुन गयो । २० वैशाख २०८० मा पक्राउ परेका रायमाझीले ३ वर्षको कैद अवधि पूरा गरेपछि कानुनी रूपमै रिहाइको बाटो खुलेको हो ।
नेपाली राजनीति र प्रशासनिक वृत्तलाई तरंगित बनाएको बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनमा करोडौँ रुपैयाँ ठगी गरिएको थियो । तत्कालीन सांसद रहेकै अवस्थामा पक्राउ परेका रायमाझीलाई काठमाडौँ जिल्ला अदालतले ठगी कसुरमा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना तथा राज्यविरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिबाना सुनाएको थियो । सोही कसुरमा थप ६ महिना कैदसमेत निर्धारण गरिएकोमा सबै कसुरको सजायलाई एकीकृत गर्दा उनलाई कुल ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना हुने अन्तिम फैसला भएको थियो ।
उच्च राजनीतिक नेतृत्वसमेत मुछिएको गम्भीर प्रकृतिको आर्थिक तथा संगठित अपराधमा दोषी ठहर भई लामो समय कारागार बसेका रायमाझी जेलमुक्त भएसँगै उनको आगामी राजनीतिक भविष्य र सार्वजनिक जीवन कस्तो रहनेछ भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ ।







