धादिङको नलाङमा कृषि तथा पर्यटनको सम्भावना

532 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ  । धादिङको नालाङमा कृषि तथा पर्यटनको प्रचुर सम्भावना रहेको छ । दुई महिना अघिदेखि नलाङ गाविसमा कृषि पर्यटनको सम्भाव्यता अध्ययन गरिरहनुभएका संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सहसचिव डा तारानाथ पाण्डेले नलाङमा कृषि तथा पर्यटनको प्रचुर सम्भावना रहेको बताउनुभयो ।
जिल्लामा दूइ महिनादेखि गरिएको अध्ययन बारे जानकारी दिन आयोजित कार्यक्रममा उनले नलाङ जिल्लाको अर्को पर्यटन गन्तब्य हुने र यहाँ बहुपर्यटनको सम्भावना रहेको उल्लेख गरे । पर्यटन मन्त्रालयबाट यस वर्ष धादिङ जिल्लाका नलाङ, मैदी, धुषा, र गजुरी गाविसमा कृषि तथा पर्यटनको सम्भाव्यता अध्ययन गर्न लागिएको कार्यक्रममा जानकारी गराइएको थियो । नलाङको बैरेनीमा गाईपालन, तारनलाङमा बाख्रापालन, मौरीपालन गर्न सकिने र पात्लेको गुरुङगाँउमा गुरुङ संस्कृतिसहितको होमस्टेको लागि प्रचुर सम्भावना रहेको डा पाण्डेले बताउनुभयो । यसैगरी सिद्धलेक धार्मिक र प्याराग्लाइडिङ गर्न सकिने स्थानमा चयन गरिएको बताइयो ।
कार्यक्रममा उद्योग वाणिज्य सङ्घ धादिङका अध्यक्ष कल्पना अधिकारीले व्यापार कृषि र उद्योगका साथै पर्यटन विकासमा जोड दिनु पर्ने धारणा राख्नुभयो । समुदाय स्तरमा पर्यटकलाई राख्नको लागि र स्थानीय जनताको जनस्तर माथि उठाउनको लागि नलाङका सम्भावित क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाइनु पर्ने विज्ञको सुझाव छ ।