हिन्दुङमा पहिरोमा पुरिएर हराइरहेका २ जना मृत भेटिए

1102 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१७ माघ – धादिङको रुवीभ्याली गाउँपालिकाको हिन्दुङमा माघ १३ गते आईतबार बिहानदेखि पहिरोमा पुरिएर ओडार भित्र हराइरहेका २ जना पाँच दिन पछि ढुंगाले च्यापिएकाे अवस्थामा बिहीबार सांझ मृत भेटिए ।
धादिङको रुवीभ्याली गाउँपालिका वडा नम्बर ४ हिन्दुङमा लगातारको हिमपातपछि गोठाला गएको बेला सुरक्षित स्थानमा बस्ने क्रममा ओढार भित्र बसेको वेला आईतबार विहान ओढारमाथिबाट ठुला ठुला चट्टान खसेर गएको पहिरो पुरिएर बेपत्ता भएका हिन्दुङका ४५ वर्षीय नोर्बु तामाङ र सोही ठाउँका १८ वर्षीय धनबहादुर तामाङको खोजीमा जुटेको सुरक्षाकर्मीको टोलीले पाँच् दिन पछि उनिहरुको शव भेटेको हो ।
भेडा वाख्रा चराउन जंगल गएका उनिहरु लगातारको हिमपात पछि ओडारमा बसेको अवस्थामा आइतबार बिहान ओडार भन्दा माथिको ठूलो चट्टान फुटेर पहिरो गएपछि सम्पर्क विहिन भएका थिए ।

पहिरोले पुरिएर ओढार भित्र हराईरहेका उनिहरुको खोजीका लागि शशस्त्र प्रहरी वलका प्रहरी निरीक्षक लक्ष्मणवहादुर बस्नेतको नेत्तृत्वमा रहेको टोलीले चार दिन लगाएर पहिरोको ढ्रुंगा फुटाउँदै खोजी गर्दा विहिवार सांझ दुवै जना ढुंगाले च्यापिएर मृत्यु भएको अवस्थामा भेटेको शशस्त्र प्रहरी वल धादिङबेसी गुल्मप्रमुख प्रहरी नायव उपरिक्षक दर्शन गिरीले जानकारी दिनु भयो ।
ओढार भित्र फसेका दुवै जना ठुलो ढुंगाले च्यापिएर मृत्यु भएको अवस्थामा विहीवार वेलुकी ६ वजे र ५९ मिनेटमा धनबहादुर तामाङको र ७ वजेर ८ मिनेटमा नोर्बु तामाङको शव भेटिएको शशस्त्र प्रहरी वलका प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनु भयो । खोजी कार्यमा प्रहरी निरीक्षक बस्नेतको नेत्तृत्वमा शशस्त्र प्रहरी र नेपाल प्रहरीको ३० सदस्यिय टोली जुटेको थियो । स्थानीय वासी र आफन्तहरुले पनि खोजी कार्यमा प्रहरीलाई साथ दिएका थिए । पहिरोमा पुरिएका २ सय ६० वटा भेडा वाख्रा मध्ये जम्मा ४ वटा भने जिवितै अवस्थामा भेटिएको उद्धार टोलीले जनाएको छ ।उद्धारका लागि खटिएको शशस्त्र प्रहरी वल विपद व्यवस्थापन तालिम शिक्षालयका टोलीले जेनेरेटरको माध्यमबाट भाईब्रेशन गराई ढुंगा फुटाएको थियो ।