चितवनमा प्रहरी र गाँजा तस्करबीच भिडन्त, एकको मृत्यु

462 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 चितवनको पिप्लेमा प्रहरी र गाँजा तस्करबीच दोहोरो गोली हानाहान हुँदा एकजनाको मृत्यु भएको छ । दोहोरो भिडन्तमा घाइते भएका तस्करतर्फका एकजनालाई उपचारार्थ भरतपुर अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको चितवन प्रहरीले शनिबार एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ । गएराति भएको सो घटनामा एकजनाको मृत्यु भएपनि उनको पहिचान खुल्न नसकेको चितवनका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजन अधिकारीले बताए । उनका अनुसार मकवानपुरबाट ठूलो परिमाणमा गाँजा चितवनको लोथरतर्फ ल्याउँदै गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी नायब उपरीक्षक अधिकारीसहितको टोली त्यसतर्फ गएको थियो । गाँजा तस्करको खोजी गर्दै चितवनको पिप्ले र मकवानपुरको मनहरि, र काकडा गाविसको सिमाना पाङथली दोभान नजिकै प्रहरी टोली पुगेपछि गाँजा तस्करले प्रहरीमाथि अन्धाधुन्ध गोली चलाएपछि प्रहरीले पनि बचाउका लागि जवाफी फायरिङ गरेको अधिकारीले बताए । प्रहरीको जवाफी कारबाहीका क्रममा अन्य दर्जनौँ तस्करहरू घाइतेलाई छाडी भागेका थिए । घाइतेको साथबाट प्रहरीले एक थान हतियार र केही राउन्ड गोलीसमेत बरामद गरेको चितवन प्रहरीले जनाएको छ ।