उपसभामुखको निर्वाचन चैत्र २ गते हुने

748 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । आगामी चैत्र २ गते शुक्रबार उपसभामुखको निर्वाचन हुने भएको छ । सभामुख कृष्णबहादुर महराले आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उपसभामुखको निर्वाचन आगामी चैत्र २ गते शुक्रबार अपरान्ह १ बजेका लागि तय गरिएको जानकारी गराउनु भएको हो ।

त्यस अवसरमा उहाँले उपसभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न पनि संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिनुभयो ।

प्रतिनिधिसभा अन्तरिम कार्यविधि, २०७४ को दफा ७ बमोजिम उपसभामुखको निर्वाचन कार्यतालिका तय गरिएको हो । गत शनिवार माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सभामुखमा निर्विरोध निर्वाचित हुनु भएको थियो । वामगठबन्धनबीचको सहमति अनुसार उपसभामुखमा एमालेले उम्मेदवारी दिनेछ । यता, प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले पनि उपसभामुख आफ्नो दलले पाउनुपर्ने दावी गर्दै आएको छ ।