जंगलको झुप्रामा मागेर गुजारा

646 पटक पढिएको

सम्पादक: Dhadingnews.com

पीडा (धादिङ), असार २ – बुढेसकालको सहारा ठानिएको ११ वर्षीय नाति पनि घर छाडेर हिँडेपछि पीडा-७ ओडारेका एक जोडी चेपाङ वृद्धवृद्धा दुई वर्षदेखि स्याउलाको झुप्रामा दिन बिताइरहेका छन् । ओडारेमा उनीहरूको झुप्रोभन्दा आधा घन्टा वरपर कुनै बस्ती छैन । जंगल छेउको ऐलानी जग्गामा लगाएको अन्नले चार महिना खान पुग्छ । बाँकी ८ महिना मागेरै गुजारा गर्नुपर्छ । त्यही जग्गाको मायाले ८२ वर्षीय मंगलबहादुर र ७५ वर्षीया काइँली चेपाङ जंगल फाँडेर बसेका हुन् । कटुसको स्याउले झुप्रोभित्रको अँगेनामा आगो फुक्न अन्य गाउँबाट मागेर ल्याउनुपर्ने मंगलबहादुरले सुनाए । ‘खान पाइएन भनेर ओल्लोपल्लो गाउँबाट अन्नपात मागेर ल्याउँछौं,’ उनले भने, ‘अब ज्यानमा तागत छैन, मागेरै खाने विचार छ ।’
काठमाडौं कमाउन गएको नाति कहाँ छ ? के गर्छ ? वृद्ध दम्पतीलाई अत्तोपत्तो छैन ।‘काम लगाउन लगिदिने पल्लो गाउँकाले भाँडा माझ्छ भनेका थिए,’ मंगलले भने ।

chepangघरमा बूढाबूढी मात्रै भएपछि अन्नदेखि लुगाफाटासम्म माग्ने गरेको उनले बताए । ‘काम गर्न सकिँदैन,’ उनले भने, ‘नमागेर के गर्नु, बाँच्नैपर्‍यो ।’ खानेकुरा नहुँदा धेरै दिन भोकै परेको उनले सुनाए । अर्को गाउँका आफन्त पर्नेको घरबाट ल्याएको ४ माना कोदो सकिएपछि अन्नको गेडो नहुने उनले बताए । त्यसपछि फेरि माग्न हिँड्नुपर्ने मंगलले सुनाए । काइँली कान राम्रो सुन्दिनन् । ज्यालामजदुरी गर्न घर वरपर काम पाइँदैन । टाढा जान नसक्ने भएपछि दुई वर्षदेखि माग्न थालेको उनीहरूले सुनाए । स्याउलाको छानो र भित्तो भएको झुप्रोमा छिमेकी गाउँलेसँग मागेर ल्याएको एउटा गाईको बाच्छी पनि छ । मुस्किलले मान्छे छिर्न सक्ने होचो झुप्रो त्यही पनि चुहिन्छ । ‘गर्मीमा त ठीकै हुन्छ, जाडोमा चिसोले सताउँछ,’ काइँलीले भनिन् । झुप्रो चुहिने भएपछि स्याउला काटेर ल्याए पनि छाउने तागत उनीहरूसँग छैन । ‘मर्ने बेलामा घर बनाउने सुर छैन,’ मंगलले भने, ‘यही झुप्रो छाउन पाए पुग्थ्यो ।’ छोरा अघि लागेपछि बुहारी बाटो लागेको उनीहरूले सुनाए । बाँकी भएको नाति पनि घर बस्न मान्दैन । उनीहरू बेसहारा छन् । साउनताका मकै नभित्र्याएसम्म हातमुख जोर्न माग्नु नै पर्ने उनीहरूको बाध्यता छ । त्यसपछि दुई महिना खान पुग्छ । मंसिरमा कोदो आएपछि फेरि दुई महिना आफ्नै अन्न खान पाउँछन् । ‘हिजोआज त अन्न छैन, खोलेफाँडो दिनमा एक छाक खाने हो,’ मंगलले भने । पहिलेको घर लडेपछि उनीहरू झुप्रोमा पुगेका हुन् । ‘खान पाइएन हजुर भनेर शरण परेपछि दुई मुठ्ठी अन्न सबैले दिन्छन्,’ काइँलीले भनिन्, ‘त्यही मुठ्ठीका भरमा बूढाबूढीको प्राण धानिएको छ इ कान्तिपुर डट कमले खबर लेखेको छ । तस्बिर सुदीप/कान्तिपुर