उपचुनावमा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न निर्वाचन आयोगको निर्देशन

349 पटक पढिएको

१ कार्तिक २०८१, बिहीबार २१:४३ सम्पादक: धादिङ न्यूज

काठमाडौँ १ कार्तिक २०८१ – निर्वाचन आयोगले आउँदो मङ्सिर १६ गते हुने पालिकाको उपचुनावमा प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला हुने गरी मनोनयन दर्ता गराउन राजनीतिक दलहरूलाई निर्देशन दिएको छ ।

आयोगले आज विज्ञप्ति निकालेर रिक्त रहेको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा उम्मेदवारी दिने राजनीतिक दलले महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न भनेको हो ।

आयोगको निर्देशनअनुसार दलहरूले नलगाढ नगरपालिका, गौरीशङ्कर र स्वामीकार्तिक खापर गाउँपालिकाको उपप्रमुखमा महिला नै उम्मेदवार उठाउनुपर्ने भएको छ । कीर्तिपुर नगरपालिका, ग्रामनाथ गाउँपालिका र महाबु गाउँपालिकाको प्रमुख पदमा भने महिला वा पुरुष जसलाई पनि उम्मेदवार बनाउन सकिन्छ । तीनवटै पालिकामा उपप्रमुख महिला छन् ।

संविधान र कानूनको सकारात्मक व्याख्या गरेर महिलाको उम्मेदवारी सुनिश्चित गर्न हिजो बसेको बैठकले यस्तो निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ । आयोगले यसअघि नै उपचुनावका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गराउने कार्यतालिका सार्वजनिक गरिसकेको छ । आयोगका अनुसार पालिकामा रिक्त रहेका ४० वटा पदमा उपचुनाव हुँदैछ ।