कृष्णकुमार लामाको ‘तामाङ स्रष्टा र सिर्जनाहरु’ सार्वजनिक

410 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं- लेखक तथा समीक्षक कृष्णकुमार लामा तामाङको समीक्षात्मक पुस्तक ‘तामाङ स्रष्टा र सिर्जनाहरु’ सार्वजनिक गरिएको छ । शनिबार बौद्धस्थित बौद्ध घ्याङ गुठीमा आयोजित समारोहमा नेपाल तामाङ घेदुङका पू्र्व अध्यक्ष धनप्रसाद तामाङले पुस्तक सार्वजनिक गरेका हुन् ।
Tamang-Shrasta_Krishnaपुस्तकमा २५ जना तामाङ स्रष्टाहरुका विभिन्न विधामा प्रकाशित ३४ वटा पुस्तकहरुका समीक्षा समेटिएको छ । ‘विभिन्न समयमा प्रकाशित तामाङ पुस्तकहरुको समीक्षा गर्ने प्रयास गरेको थिएँ । ती समीक्षात्मक लेखहरु दुई वर्षको अवधीमा विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् । त्यसैलाई सङ्कलन गरी पुस्तकको रुपमा ल्याएको हुँ ।’ समीक्षक तामाङले भने ।
नेपाली भाषामा रहेको यो उनको कृति हो । पुस्तक आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा तामाङ स्रष्टा समाजले प्रकाशन गरेको हो ।
कार्यक्रममा मन्तव्य राख्दै घेदुङका पूर्व अध्यक्ष धनप्रसाद तामाङले समीक्षा विधामा पहिलो तामाङ पुस्तक प्रकाशन भएकोमा खुसी व्यक्त गरे । उनले तामाङ साहित्यको विकासमा समीक्षा र समालोचना हुन जरुरी रहेको बताए ।
कार्यक्रममा भाषाविद अमृत योञ्जन तामाङ, छार गोङमा मासिकका सम्पादक प्रतिक तामाङ, लेखक रवीन्द्र ग्यावक तामाङ, दुपवाङगेल मोक्तान लगायतले पुस्तकको बारेमा आ–आफ्नो विचार राखेका थिए ।
कार्यक्रममा तामाङ स्रष्टाहरुले कविता, गजल, गीत लगायत रचनाहरु वाचन गरेका थिए ।