मोदीको भ्रमण सफल बनाउन मंगलवार सम्बन्धित मन्त्रालयसँग छलफल गरिने

494 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

download (1)काठमाण्डौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण सफल बनाउन ३ दलले सक्दो प्रयास गर्ने निष्कर्ष निकालेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको प्रमुख ३ दलको बैठकमा भ्रमणबाट दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको र सहयोगसम्बन्धीे सम्झौताका लागि सम्बन्धित मन्त्रीहरुसँग मंगलवार फेरि बैठक बस्ने निर्णय भएको काँग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो । सोमवारकै  बैठकमा छिट्टै सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता खोजविन आयोग गठन गर्ने एवम् संविधान निर्माणका लागि सहमति कायम गर्न राजनीतिक संवाद सहमति समितिमा रहेका शीर्ष नेताहरु रहने एक समिति निर्माण गर्ने विषयमा पनि छलफल भएको उपसभापति पौडेलले बताउनुभयो । बैठकमा संविधान निर्माणमा सहभागी बनाउन संविधानसभा बाहिर रहेका दल एवम् विभिन्न समूहसँग राजनीतिक संवाद सहमति उपसमितिले गरिरहेको वार्ता र छलफलबारे जानकारी गराइएको एमाले उपाध्यक्ष भीम रावलले बताउनुभयो । बैठकमा शान्ति प्रक्रियासँग गाँसिएको चारबुँदे सहमतिअन्तर्गत उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने विषयमा छलफल भएको र छिट्टै यसबारे निर्णय लिइने एकीकृत माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीले बताउनुभयो ।