कांग्रेस १५औँ महाधिवेशन: धादिङबाट सहमहामन्त्री र केन्द्रीय सदस्यमा १२ नेताको उम्मेदवारी

33 पटक पढिएको

२३ आश्विन २०८३, शुक्रबार ०५:४८ सम्पादक: धादिङ न्यूज

धादिङ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान सुरु हुने भएको छ। महाधिवेशनमा देशभरबाट सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी ५ वर्षे कार्यकालका लागि मतदान गर्ने भएका छन्।

यसैबीच, १५औँ महाधिवेशनमा केन्द्रीय समितिका विभिन्न पदहरूका लागि धादिङ जिल्लाबाट १२ जना नेताहरूले उम्मेदवारी घोषणा गरेका छन्। जिल्लाबाट केन्द्रमा उम्मेदवारी दिने नेताहरूको संख्या १२ पुगेको हो, जसमध्ये २ जनाले सहमहामन्त्री र १० जनाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

धादिङबाट सहमहामन्त्री पदमा दुई जना चर्चित नेताले उम्मेदवारी घोषणा गर्नुभएको छ। नेपाली कांग्रेस आदिवासी जनजाति विभागका प्रमुख तथा पूर्वकानुन, न्याय तथा संसदीय मामिला राज्यमन्त्री दिलमान पाख्रिनले आदिवासी जनजाति क्लस्टरबाट सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ। त्यस्तै, २०८३ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा धादिङ क्षेत्र नं २ बाट उम्मेदवार रहनुभएका नेता रमेश धमलाले खुल्ला तर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।

केन्द्रीय सदस्य पदतर्फ विभिन्न क्षेत्रका ख्यातिप्राप्त तथा जिम्मेवार नेताहरूले उम्मेदवारी घोषणा गर्नुभएको छ। जसमा नीलकण्ठ नगरपालिकाका मेयर तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुङ्गाना, वर्तमान प्रतिनिधिसभा सदस्य उर्मिला थपलिया, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रिता थापामगर र २०८३ फागुनको प्रतिनिधिसभा निर्वाचनमा धादिङ क्षेत्र नं १ का उम्मेदवार कृष्ण रिजाल हुनुहुन्छ।

त्यस्तै, केन्द्रीय सदस्यमै उम्मेदवारी घोषणा गर्ने अन्य नेताहरूमा युवा नेता राधाकृष्ण भण्डारी, रमेश विश्वकर्मा, कविता इटनी, उर्मिला कँडेल, मधुकुमार श्रेष्ठ र बाबु कृष्ण सापकोटा रहनुभएको छ।