पत्रकार मैत्री संविधान निर्माणमा जोड

779 पटक पढिएको

२६ आश्विन २०७१, आईतवार २०:४१ सम्पादक: धादिङ न्यूज

जनकपुरधाम, २६ असोज । प्रशासनिक अदालतका अध्यक्ष काशीराज दाहालले पत्रकार मैत्री संविधान निर्माणको खाँचो औँल्याउनु भएकोछ ।

नेपाल पत्रकार महासङ्घ र युनेस्कोद्वारा आज यहाँ आयोजित शान्ति स्थापनामा सञ्चारको भूमिका विषयक क्षेत्रीय गोष्ठीमा उहाँले अज्ञानताको कुण्डमा बसेका कारण शान्ति र संविधान निर्माण सन्दर्भमा दायित्व र नैतिकताको क्षयीकरणको अवस्था सिर्जना भएको प्रसङ्ग उल्लेख गर्नुभयो ।

महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले शान्ति स्थापनाको सन्दर्भमा इच्छाशक्ति झन–झन कमजोर हुँदै गएको चर्चा गर्दै पेसागत सुरक्षाको अभावले स्वनियन्त्रणको अवस्था विद्यमान छ भन्नुभयो ।

महासङ्घका पूर्व अध्यक्ष सुरेश आचार्यले अभिव्यक्ति स्वतन्त्रतालाई समाप्त हुने कानुन बनाउन नहुने धारणा राख्नुभयो ।

मध्यमाञ्चल संयोजक शीतल महतोले आचारसंहिता पालनामा जोड दिनुभयो । केन्द्रीय सदस्य अजय अनुरागीले पत्रकारलाई सामाजिक सुरक्षाको आवश्यकता रहेको बताउनुभयो ।

युनेस्कोका पत्रकार सुरक्षा कार्यक्रम संयोजक लक्ष्मणदत्त पन्तले अधिकांश सञ्चारकर्मी सुरक्षाको अभावका कारण त्रसित रहेको तथ्य प्रस्तुत गर्नुभयो ।

महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रको सभापतित्वमा सम्पन्न सो गोष्ठीमा सञ्चारकर्मीहरुले सञ्चारसम्बन्धी हकको सुनिश्चितता, ऐन, कानुन, प्रेस मैत्री हुनुपर्ने, सञ्चार कानुनलाई परिवर्तित सन्दर्भअनुसार सुधार गरिनुपर्ने, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन हुनुपर्ने धारणा राख्नु भएको थियो ।

गोष्ठीमा चितवन, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका क्रियाशील सञ्चारकर्मीको सहभागिता रहेको थियोे ।