पत्रकार धनवहादुर खडकाले तयार पारे नयाँ देउडा गीत

893 पटक पढिएको

प्रकाशित मिति: २०७१, २५ कार्तिक मंगलवार १७:१३

सम्पादक: धादिङ न्यूज

 

 

deuda1धनगढी, २४ कात्तिक । सुदूर र मध्यपश्चिमाञ्चलमा चर्चित देउडा संस्कृतिलाई सम्पूर्ण नेपालीमाझ पुर्याउने उद्देश्यले नयाँ देउडा गीत तयार गरिएको छ ।

पत्रकार धनबहादुर खड्काले लेखेको शब्दमा गायक विनोद बाजुराली र विष्णु माझीले स्वर भरेका छन् ।

सुदूर र मध्यपश्चिमका पर्व, जात्रा, समारोहलगायतका कार्यक्रममा गाउने गरिएको देउडा गीतमा प्रयोग हुने बिम्ब र भाषाका कारण सबैले बुझ्न कठिन हुने गरेको परिप्रेक्ष्यमा नयाँ पुस्ता र अन्य क्षेत्रका सर्वसाधारणलाई बुझाउने भाखामा देउडा गीत तयार भएको गीतकार खड्काले बताउनुभयो ।

परम्परागत सङ्गीतमा नयाँ पुस्ताको जनजीवन बनेको प्रविधिलाई गीतको बिम्बका रुपमा तयार गरिएको नयाँ देउडामा गीतको भाखा यसरी प्रयोग गरिएको छ ।

‘नत धेक्याँ (देखेँ) फेसबुकमा नत फोनै उठ्यो ।
डरै लाग्यो कित हाम्रो पिरतीकै तार टुट्यो ।।’

देउडाको सङ्गीत असाध्यै सुमधुर भए पनि गीत समयानुकूल नभएकाले त्यही क्षेत्रको नयाँ पुस्ताले समेत देउडा सुन्न छाडेको अवस्थामा यो गीतले फेरि देउडा संस्कृतिको विस्तार र संरक्षणमा सघाउने गीतकारको भनाइ रहेको छ ।

लोकदोहोरी गीत गायन र ‘एरेञ्ज’मा जमेका गायक विनोद बाजुरालीले प्रत्येक वर्ष एउटा देउडा गीत बजारमा ल्याउँदै आउनुभएको छ ।

यसअघि ‘कर्णाली पुल’ भन्ने देउडामार्फत नयाँ पुस्तालाई देउडा सुन्ने बनाएका उहाँ यो गीतबाट झनै आशावादी रहनुभएको छ ।

लोकगीतको म्युजिक भिडियोमा जमेका शङ्कर विसी र पार्वती राईको जोडीले उक्त गीतको म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ ।

म्युजिक भिडियोमा देउडा नाचका साथै लोक नृत्यका झलक देख्न पाइने बताइएको छ । राजेश घिमिरेले खिचेको भिडियोको छायाङ्कन राजधानीको वसन्तपुरमा गरिएको छ ।

हालसम्म ९०० बढी गीतमा नाचिसकेका मोडल शङ्करले यो गीतमा नाच्दा फरक अनुभूति भएको बताउनुभयो ।

परम्परागत संस्कृतिलाई नयाँ पुस्ताले हेर्नलायक बनाउन निकै मेहनत गर्नुपरेको उहाँको अनुभव छ ।

पहिलोपटक देउडा गीतमा देखिनुभएकी पार्वती राई देउडामार्फत आफूलाई सुदूरपश्चिमकै युवतीका रुपमा देखाउने प्रयास गरेको बताउनुहुन्छ ।

 



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७१, २५ कार्तिक मंगलवार १७:१३ मा प्रकाशित