नेपालको विकासका लागि जर्मनीले साठी लाख युरो दिने

654 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

euroकाठमाडौँ, १६ मङ्सिर । सङ्घीय गणतन्त्र जर्मनीले नेपालको सामाजिक–आर्थिक विकासका लागि थप ६० लाख युरो प्रदान गर्ने भएको छ । यसअघि उक्त मुलुकले वार्षिक चार करोड २० लाख युरो उपलब्ध गराउँदै आएको थियो ।

नेपालको विकास प्रयासमा सघाउन तथा पारस्परिक सहायताका नयाँ क्षेत्र पहिल्याउन अर्थ मन्त्रालयमा आयोजित दुईदिने वार्ताको अन्त्यमा यसअघिको सहायता प्रतिबद्धतामा ६० लाख युरोले वृद्धि गर्न जर्मनी सहमत भएको हो ।

द्विपक्षीय विकास सहायता वार्ता दिगो आर्थिक विकास तथा व्यापार, स्वास्थ्य, ऊर्जा सक्षमता र नवीकरणीय ऊर्जा प्रवद्र्धनका क्षेत्रमा केन्द्रित थियो । सन् २०१५ का निम्ति उक्त मुलुकले प्राविधिक तथा वित्तीय सहायताअन्तर्गत उक्त रकम उपलब्ध गराउन सहमति जनाएको हो ।

छ वर्षपछि सरकारीस्तरमा भएको उक्त वार्तामा जर्मनीले स्वास्थ्य क्षेत्रका लागि सर्वाधिक दुई करोड ५५ लाख युरो प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । गरिबी निवारणलाई मुख्य केन्द्रविन्दु मानेर सहायता परिचालन गर्न दुवै मुलुकका अधिकारी सहमत भएको यहाँस्थित जर्मनीको राजदूतावासले जनाएको छ ।

सहस्राब्दी विकास लक्ष्य हासिल गर्ने दिशामा नेपालले केही प्रगति गरे पनि गरिबी निवारण र असमानता हटाउन अझै धेरै गर्नुपर्नेमा जर्मनीले जोड दिएको छ । साथै उक्त मुलुकले मध्य तथा सुदूर पश्चिमका ग्रामीण भेगमा दिगो आर्थिक विकासका अवसरका साथै रोजगारीका अवसरमा विकासको प्रतिफल पाउनबाट वञ्चित वर्गलाई लक्ष्यित गर्न नेपाल सरकारलाई सुझाएको छ ।

सन् १९५८ मा नेपाल र जर्मनीबीच कूटनीतिक सम्बन्ध स्थापनापछि सन् १९६१ भएयता जर्मनीले नेपालको राजनीतिक, आर्थिक, वातावरणीय, तथा सामाजिक उन्नयनको क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ । पछिल्ला वर्षमा उक्त मुलुकले नेपालको सन्तुलित विकासका लागि वार्षिक एक अर्ब १४ करोड ७० लाख युरो उपलब्ध गराएको छ । विकासको प्रतिफलबाट वञ्चित मध्य तथा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका जनताको जीवतस्तर उठाउन कार्यक्रममा केन्द्रित रहेर जर्मनीले सहायता परिचालन गरिरहेको छ ।