मेनपावरको कालो धन्दाः नक्कली सेना, प्रहरी बनाउँदै मलेसिया पठाउँदै

847 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

मलेसियामा सुरक्षा गार्डको काममा नेपालका मेनपावर कम्पनीहरुले नक्कली रुपमा सेना र प्रहरीमा काम गरेको कागजात र फोटो तयार पारी अन्यलाई पठाउने गरेको भेटिएको छ । यसले मलेसिया पुगेपछि कतिपयलाई समस्यामा पार्ने गरेको छ । कतिपयले वर्क परमिट पाएका छैैनन् भनें कतिपय अवैधानिक भएर काम गरिरहेका छन् देश परदेश डट कमले खबर लेखेको छ ।

Malaysia-securityविराटनगरका हर्क राई त्यसरी नै काठमाडौंबाट नक्कली कागजातमा मलेसिया आइपुगेका छन् । उनलाई प्रोफेसनल मेनपावरले यहाँको प्याराफोर्स सेक्युरिटी कम्पनीमा सुरक्षागार्डका रुपमा काम गर्न पठाएपनि उनी अप्ठ्यारोमा परेका छन् ।

राईलाई नेपाली सेनाको रिटायर्ड अफिसर भनेर कागजात, तस्वीर सहित पठाइएको भएपनि उनलाई यहाँको ईमेरिगेसनले वर्क परमिट दिन अस्विकार गरेको छ ।

प्याराफोर्स सेक्युरिटी कम्पनीका सञ्चालक एल.एक्स.का अनुसार राईको कागजपत्र र उनको तस्वीर नक्कली देखिएकाले उनले वर्क परमिट पाउन नसकेका हुन् । उनका अनुसार २४ बर्षिय राईलाई मेनपावरले नेपाली सेनाको अवकाश प्राप्त जर्नेल भएको नक्कली कागजात बनाएर पठाएको छ । राई स्वयंले पनि मेनपावरले आफ्नो फोटोमा जर्नेलको फुलि लगाइदिएर मलेसिया पठाएको स्वीकारेका छन् ।

९ महिना अघि मेनपावरलाई १ लाख ८० हजार रूपैयाँ तिरेर मलेसिया आएका राई वर्क परमिट नपाएपछि सोही कम्पनीमा अवैधानिक रुपमा काम गरिरहेका छन् । मलेसिया आउँदा लागेको ऋण तिर्न नसकेकाले आफू तत्काल नेपाल फर्किन नसकेको राई बताउँछन् ।

सुरक्षा गार्डमा मलेसिया पठाउँदा यसरी नै नेपालका मेनपावर कम्पनीहरुले ठगिरहेको र मलेसिया आइसकेपछि समस्यामा परिने भन्दै राईले अरुलाई विचार गरेर तथा कागजात राम्रोसँग हेरेर मात्र मलेसिया आउन आग्रह गरेका छन् ।

राईलाई मात्रै हैन सोही मेनपावरले १६ बर्ष नेपाल प्रहरीमा काम गरेका तेह्रथुमका रामेश्वर गड्तौलालाई समेत सेनाको नक्कली कागजात बनाएर मलेसिया पठाएको छ । तस्वीर प्रहरीको र कागजात सेनाको भएपछि उनले पनि वर्क परमिट पाउन सकेका छैनन् ।

यसरी सेना, प्रहरीको नक्कली कागजात र तस्वीर सहित अन्य व्यक्तिलाई सुरक्षा गार्डमा नेपालका अन्य धेरै मेनपावर कम्पनीले पठाउने गरेको भुक्तभोगिहरु बताउँछन् । नेपालबाट आउँदा सवै कागजात मेनपावरले बनाइदिने भएकाले आफूलाई धेरै कुरा थाहा नभएको गड्तौला बताउँछन् । मलेसिया उत्रिएपछि मात्र आफ्नो तस्वीर प्रहरीको र कागजात सेनाको बनाइएको उनले थाहा पाएका थिए ।

प्रोफेसनल मात्र नभई नेपालका अन्य धेरै मेनपावर कम्पनीले यसरी नै नक्कली कागजात बनाएर सुरक्षागार्डका लागि कामदार पठाउदा वर्क परमिट दिन नसकिएको मलेसियाको पुत्राजयास्थित इमेरिगेसनले जनाएको छ । मलेसियाका प्रहरी प्रमुख तानश्री खालिद अबु बकरले समेत मलेसियामा कार्यरत नेपाली सुरक्षागार्डले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको भन्दै यहाँको गृहमन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

यसरी सेना, प्रहरीको नक्कली कागजात र तस्वीर सहित अन्य व्यक्तिलाई सुरक्षा गार्डमा नेपालका अन्य धेरै मेनपावर कम्पनीले पठाउने गरेको भुक्तभोगिहरु बताउँछन् ।
यस विषयमा नेपालको श्रम तथा रोजगार मन्त्रालय र मातहतका निकाय अनभिज्ञ नै छन् । बैदेशिक रोजगार विभाग, काठमाडौं कार्यालयका प्रमुख मधुविलास पण्डित आफूहरुले कुन सक्कली र कुन नक्कली भनेर छुट्याउनै नसक्ने बताउँछन् ।

‘को प्रहरी, आर्मी हो वा होइन भनेर हामीले छुट्याउन सक्दैनौं । हामीले त कागजपत्र हेर्ने हो, त्यो सवै ठिक भएपछि श्रम स्वीकृति दिइन्छ’ पण्डितले भने । उनले मलेसियाली दुतावासले डिमाण्डको स्वीकृतिलाई अनलाइन राख्ने व्यवस्था मिलाउने हो भनें केहि मात्रामा यो समस्या सुल्झाउन सकिने भन्दै यसरी नक्कली कागजातमा मान्छे पठाउने कामका बारेमा तीनकुने स्थीत बैदेशिक रोजगार विभागमा उजुरी परे नपरेको बुझ्न आग्रह गरे ।

तर यस बारेमा तीनकुनेमा रहेको बिभागमा समेत कुनै जानकारी नभएको विभागले जनाएको छ । विभागका प्रवक्ता बद्रीकुमार कार्कीका अनुसार यो विषय बैदेशिक रोजगार विभागका लागि पनि नयाँ हो । ‘यसका बारेमा हामी छिट्टै छानविन गर्नेछौं’ कार्कीले भने ‘त्यसरी कसैले पठाउँदैछ भनें त्यो बदमासीको हद हो, त्यस्तालाई कडा कारवाही हुन्छ ।’

यसबारेमा प्रतिकृया लिन खोज्दा प्रोफेसनल मेनपावरका सञ्चालक सम्पर्कमा भेटिएनन् भनें नेपाल बैदेशिक रोजगार संघका नेतृत्वमा रहेकाहरु बोल्न मानेनन् ।