बाहुनले फुक्दापनी बज्दो रेछ सनै

765 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ / कांधमा बाजा भिरेपनी फुकालेको छैन जनै, बाहुनले फुक्दापनी बज्दो रेछ सनै, खाल्टे ४ डांडागाउंको बोलको गीत गाउदै बाजा बजाउन थालेको एक दशकहुन लागेको छ । बाहुन बाजाको नामले चिनिएको  पञ्चैबाजा  धादिङको खाल्टे गाविस वडा नं. ४ का तन्नेरी बाहुनहरूले बजाउदै आईरहेका छन ।  राष्ट्रिय पञ्चैबाजा संरक्षण समाजको नाममा स्थापना भएको यो बाजा बजाउने समूह यति वेला देशव्यापी चिनिएको छ। उनीहरूले बाजा बजाएर आएको आम्दानीले गाउँमा देखिन सक्ने परिवर्तन ल्याएका छन्। वाषिर्क झन्डै १० लाख आम्दानी गरेको बाजा समूहले स्थानीय महेन्द्रोदय कालिका माविलाई सोलार कम्प्युटर किनिदिएका छन् भने सोही विद्यालयमा एक शिक्षिकासमेत राखिदिएका छन्।

बाहुन बाजाको नामले चिनिएको यो समूहमा बहुसंख्यक सदस्य पनि बाहुन नै छन्। सामान्यतः दमाई जातिको परम्परागत पेसा रहेको पञ्चैबाजा बजाउने परम्परालाई बाहुन युवाहरूले विकास र विस्तार गरेका छन्। पछिल्लो समय खाल्टेमै मगरबाजाका नाममा मगर युवाहरू, सुनौला बजारमा बहुजातिय बाजा, नीलकण्ठ, धुसा लगायतका स्थानमा संगठित रुपमै बाजा समूहहरू स्थापना भएका छन्।

द्वन्द्वकालमा एक अर्को स्थानमा हिँडडुल गर्ने समस्याका कारण आफैंले बाजा बजाउन थालेको उनीहरू बताउँछन्। स्थानीय युवाहरूले छ वर्षअघि आफैँले प्रतिव्यक्ति १ हजार संकलन गरेर बाजासेट जोडेपछि उनीहरू राम्रो बाजा बजाउन जान्ने भएका छन्। गाउँमा शुभकार्य पर्दा होस् वा राजनीतिक दलका सभा-सम्मेलन तथा सामाजिक कार्य, देशका विभिन्न स्थानमा मनोरञ्जनका लागि बाजा समूहलाई निमन्त्रणा गर्न प्रायः छुटाउँदैनन्।