म्यान पावरले ठगेपछि मलेसियामा २७ नेपाली भोकभोकै

551 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

मलेसिया : नेपालस्थित म्यान पावर कम्पनीले भनेजस्तो काम नपाएपछि यहाँ २७ जना नेपालीको बिचल्ली भएको छ ।
malaysia_Neplese_853516030म्यान पावरले गतिलो काम हुने भन्दै झुक्याएर ठगी गरी मलेसिया पठाउँदा आफूहरुको विचल्ली भएको नेपाली युवाहरुले बताएका छन् । सम्झौतामा उल्लेखित काम नदिँदा विना तलब भोकभोकै काम गर्नुपरेको नेपाली युवाहरुको गुनासो छ ।
नेपालमा गरिएको सझौताअनुसारको काम र पारिश्रमिक नपाउँदा मलेसियाको शाहलमस्थित सेक्सन–१६ मा रहेको एलएफ लजिष्टिक कम्पनीमा कार्यरत २७ नेपालीले म्यानपावरले झुटो आश्वासन दिएर विचल्लीमा पारेको बताएका हुन् अन्नपूर्ण पोष्ट डट कमले खबर लेखेको छ ।
काठमाडौंको नाइल ओभरसिजमार्फत मलेसिया आएका उनीहरुले काम र पारिश्रमिक नपाउँदा भोकभोकै बस्नुपरेको बताएका हुन् । नेपालबाट एयरपोर्टको काम भनेर मलेसिया ल्याइएका ती युवा सझौताअनुसारको काम नपाएपछि बेवारिसे बनेका छन् ।
‘हामीलाई नेपालमा एजेण्टले महिनामा १७ देखि १८ सय आरएम कमाइ हुने भन्दै पठाएको थियो’, मोरङ्गका जंगमान विकले  भने, ‘तर यहाँ आएपछि एक हजार आरएम पनि पाइएको छैन । तलबबिना काम गर्दै भोकै बस्नुपरेको छ ।’
एयरपोर्टको काम भनेर ल्याइएका उनीहरुले अहिले मुस्किलले लोड अनलोडको काम पाएको बताएका छन् । त्यो काम गर्दा पनि उनीहरुले नियमित तलब पाउन सकेका छैनन् । एयरपोर्ट कार्ग भनेर ल्याइएका आफूहरु सप्लायर्समा तलबै नपाई काम गरिरहनु परेको खोटाङका प्रेम घिमिरे  बताउँछन् । ‘कामको कुनै टुङ्गो छैन न तलव भनेको बेला पाइन्छ’ घिमिरेले भने ।
‘हामीलार्इ कहिले कहाँ काम लगाउँछ कहिले कहाँ, न कामको टुङ्गो लाग्छ न बस्न कै टुङ्गो हुन्छ’, कैलालीका रामवद्री चौधरीले भने, ‘बस्न दिइएको होस्टलमा सामन्य सुविधा पनि छैन ।’  कम्पनीले भिषा नविकरण नगर्दा उनीहरु समस्यामा परेका छन् । नेपालबाट मलेसिया आएको ५ महिना बितिसक्दा पनि कम्पनीले नयाँ भिषा दिएको छैन ।
भिसा नथपिँदा बजार जान पनि नसकेको उनीहरुले बताएका छन् ।  मोरङ्गका अमर गुरुङ्गका अनुसार समस्याबारे पटक पटक नेपालको म्यानपवारलाई सम्पर्क गर्दा पनि चासो दिएको छैन ।
म्यान पावर सञ्चालकले फोनै उठाउन छाडेको गुरुङले बताए । नेपालबाट मलेसिया पठाउँदा नाइल ओभरसिजले मलेसियाको चलेको कार्गाे कम्पनीको काम भनेको थियो । यहाँ आएपछि लजिस्टिक कम्पनीमा काम गर्न लगाइएको मोरङका जंग विकले बताए ।
नेपालबाट आउँदा नै ठगिएको बताउने उनीहरुले समस्या सामाधानको पहल पहल गरिदिन आग्रह गरेका छन् । साझौतापत्रमा उल्लेख गरेको तलव सुविधा उपलव्ध गराइदिन पीडितहरुको आग्रह छ ।