आठलाखको खाजा खर्च पास गरे गरीब प्रधानमन्त्रीले !

647 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । संसारकै गरीब प्रधानमन्त्रीमा सुशील कोइराला पर्छन भन्ने कुरा तपाईले पनि धेरै पटक सुन्नु भएको होला, पढ्नु भएको होला । प्रधानमन्त्रीको सम्पत्तिको नाममा तीनवटा मोवाइलको चर्चा पनि धेरै नै सुन्नु भएकै हो । भलै, प्रधानमन्त्रीकै सरकारी आवासबाट उनको ६ लाख रुपियाँ नगद हराएको कुराले उनको गरीबीको बिषयमा शंका उब्जाउने अवस्था सिर्जना भएको कुरा त आफ्नो ठाउँमा छदैछ । तर पछिल्लोपटक संसारका गरीब प्रधानमन्त्री, अर्थात हाम्रा प्रधानमन्त्रीले दलहरुको बैठकको खाजा खर्च चाहि दिल खोलेरै पास गर्न थालेका छन् । केही साताबीचको खाजा खर्चको दर हेर्ने हो भने प्रधानमन्त्रीको मितव्ययी व्यवहारको खिल्ली नै उड्न सक्छ ।

प्रसंग, पछिल्लो समय दुईपटकको गरी दलहरुको बालुवाटारमा बस्ने नियमित बैठकमा खाएको खाजा खर्चको बिलको हो । प्रत्येक दिनजसो दलहरु प्रधानमन्त्री निवासमा सहमतिको रटान लगाउँदै बैठक बस्छन, केही घण्टा गफिदा रहेछन, होटेलबाट मगाइएको मीठो मसिनोले आँत भर्दा रहेछन र फेरि सहमतिका लागि अर्को प्रयास गर्ने सहमतिसहित उठ्दा रहेछन् । यो हामीले भनेको होइन, खाजा खर्चको डरलाग्दो बिल र दलहरुबीचका अर्थहीन दर्जनौ संवादले स्पष्ट पारेको कुरा हो । दलहरुबीच पटक पटक वार्तामा बसेर परिणाम राम्रो ननिस्किए पनि प्रधानमन्त्रीले स्वीकृत गर्ने गरी बालुवाटारको खाजाको बिल चाहि दह्रै आएको खुलेको छ।

प्रधानमन्त्री कार्यालयमा पेस भएको बिल अनुसार विभिन्न मितिमा भन्दै आठलाख भन्दा बढीको खाजा दुई दिनमा नै खाइसकेका छन् । पुस २० गते पेस भएको बीलमा दुई लाख ६८ हजार छ सय ७१ रुपियाँको खाजा खर्च देखाइएको छ भने पुस २१ गते पेस भएको बीलमा पाँच लाख ८५ हजार नौसय ३१ रुपियाँको खाजा खर्च देखाइएको छ । बुद्धनारायण खाद्यान्न सप्लायर प्रा.लि.ले पेस गरेको दुईवटा बिलमा अस्भाविक रकम देखिएको र यसमा कर्मचारीहरुले समेत लामो हात गरेका हुनसक्ने स्रोतले बताएको छ।

खाजा नास्ताको रुपमा दलका नेताहरुले कहिले मम खान्छन, कहिले मासुका थरि थरिका आइटम खान्छन् त कहिले फ्रेस जूस र ताजा फलफूल खान्छन् । सरकारी ढिकुटी रित्याएर मीठो मीठो खाने बाहेक उनीहरु सहमतिप्रति चाहि इमानदार देखिदैनन् । फेरि आश्चर्य त के भने मितव्ययीताको कुरा गरेर नथाक्ने प्रधानमन्त्रीले चाहि केही साता अवधिको खाजा खर्चको रुपमा ८ लाखको बिललाई पास गरिदिएका छन् ।

स्रोतका अनुसार बालुवाटारमा कांग्रेसको पार्टी बैठक समेत बस्ने गरेको छ। प्रधानमन्त्रीले पास गर्ने खाजा खर्चमा कांग्रेसका केन्द्रीय नेताहरुले खाएको खाजाको रकम समेत जोडिएको छ। तर यो बीचमा कांग्रेसको नियमित बैठक बालुवाटारमा बसेको छैन। उसो भए केही दिनकै अवधिमा ८ लाख भन्दा बढी बिल आउने गरी नेताहरुले के खाए ? सप्लायर्सले प्रष्ट पार्न सकेन । केही कर्मचारीले चाहि खाजा खर्चमा पनि घोटाला भएको दाबी गर्न भ्याएका छन् ।