मृत्यु भएको पाँच महिनापछि शव नेपालमा

588 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पाँच महिनाअघि साउदी अरबमा मृत्यु भएका झापा, लखनपुर–५ का मोहन जवेगुको शव आज घर ल्याइएको छ । कामको सिलसिलामा गत भदौ ५ गते मृत्यु भएका २७ वर्षीय जवेगुको शव ल्याई आज नै अन्त्येष्टि गरिएको हो ।

उनको कन्काई नदीमा किरात धर्म संस्कृतिअनुसार अन्त्येष्टि गरिएको हो । काठमाडौंको ब्रज ह्यूमन रिसोर्सेसबाट २०६९ पुसमा साउदी पुगेका जवेगुको मुनर अल ओमान कम्पन्नीमा स्काफोल्डरमा काम गर्दै आएका थिए ।

पाँचथरको याङ्नाम–५ घर भएका उनी लखनपुर–५ को गेउरियाको आफन्तको एक घरमा बस्दै आएका थिए ।

यसैगरी, झापाको शिवसताक्षी नगरपालिकामा एक किशोरले आत्महत्या गरेका छन् । शिवसताक्षी–६ बस्ने १५ वर्षीय धीरेन्द्र बस्नेतले आज बिहान घर नजिकै एक रुखमा झुन्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।