किर्ते सरुवा पत्र देखाएर जागिर

957 पटक पढिएको

२९ माघ २०७१, बिहीबार ०६:२६ सम्पादक: धादिङ न्यूज

अर्घाखाँची – नक्कली सरुवा लिएर एक व्यक्तिले जिल्ला विकास समितिमा जागिर खान आएको खुलेको छ। प्यूठान खलंगा १ ठेगना देखाउने घमेन्द्र आर्केले पाठ्यक्रम विकास केन्द्र काठमाडौंबाट सरुवा भएको भन्ने नक्कली सरुवा पत्र बनाएर जिल्ला विकास समितिमा जागिर गर्न आएको खुलेको हो। उनी २०७१ साल साउन ३० गतेको सामान्य प्रशासन मन्त्रालयको सरुवा पत्र लिइ भदौ २५ गते जिविस अर्घाखाँची आएका थिए नागरिक दैनिकले खबर लेखेको छ ।

राजपत्र अनंकित द्वितिय खरिदार (गाविस सचिव) पदमा काम गर्दै आएको सो पत्रमा उल्लेख थियो। जिविस अर्घाखाँचीमा २ दिन हाजीर भए लगत्तै दशै बिदा परेकाले भदौ र असोज महिनाको तलव र दशै पेस्की गरि ५५ हजार एक सय ४६ रुपैयाँ बुझी उनी घर गएका थिए। जिविसले लगत्तै उनलाई धरापानी गाविसमा पठाउने निर्णय गरेपनि उनी जिल्ला फर्किएनन्। स्थानीय विकास मन्त्रालयको नाममा कार्त्तिक ४ मा उनलाई काजमा भत्तपुर जिल्ला विकास समितिमा पठाइएको भन्ने पत्र जिविसमा आयो।

उनी रमना लिन नआएपछि जिविसले उनको बारेमा खोजविन गरेको हो। ‘खोजतलास गर्दा नक्कली कागजपत्र बनाएर जागिर खाएको खुलासा भयो’, स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवालीले भने, ‘भक्तपुर काजमा सरुवा भयो भन्ने पत्र आएपनि रमना लिन नआएपछि माघ १४ गते मन्त्रालयमा बुझ्यौं, मन्त्रालयमा बुझ्दा नक्कली कर्मचारी भएको खुल्यो।’ उनले आफू जिल्ला नआउँदैको घटना भएकाले व्यक्तिका बारेमा जान्न नपाएको बताए। ‘कागजगपत्र हेर्दा शंका गर्ने स्थिति छैन’ उनले भने।