‘चोर’ पिट्दा तीन नेपाली विद्यार्थी बेलायतमा जेल चलान

767 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

arrest_20150225061259

लन्डन , फाल्गुन १३ – कुटपिटमा संलग्न रहेको अभियोगमा बेलायतको एउटा अदालतले तीन नेपाली विद्यार्थीलाई जेल सजाय सुनाएको छ । करिब वर्ष दिन अघि क्रिसमस पार्टी सकेर फर्कने क्रममा ती नेपाली विद्यार्थी कुटपिटमा संलग्न रहेको ठहर गर्दै अदालतले उक्त सजाय सुनाएको हो इकान्तिपुर डट कमले खबर लेखेको छ ।

ब्ल्याकफेयर्स क्राउन कोर्टले गत १८ फेबु्रअरीका दिन काठमाण्डौं निवासी शाक्य (नाम नखुलाइएको) लाई सात वर्ष, गिरीलाई ५ वर्ष र थापालाई दुई वर्षको जेल सजाय सुनाएको हो । घट्ना हुंदा थापा १८ वर्ष मुनी (योङ अफेण्डर्स) भएकाले उनले कम सजाय पाएका छन् । अदालतले तीनै जनाको सजायमा आधा कटौती गरिदिएको छ ।

बेलायतका एकजना सोलिसिटर राजु थापाका अनुसार, पहिलो अभियोग, व्यक्तिगत चरित्र, अदालतमा प्रारम्भिक अवस्थामै आफू दोषी रहेको स्वीकारेको अवस्था र सवुत प्रमाणका आधारमा अदालतले स्वविवेकीय अधिकार प्रयोग गरि अभियुक्तहरुलाई सजाय मिनाहा गर्न सक्ने कानुनी प्रावधान छ ।

घट्नामा संलग्न एक विद्यार्थीले भने सफाइ पाएका छन् ।

लन्डनस्थित नेपाली कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले जेल परेका नेपालीबारे विदेश मन्त्रालयबाट हालसम्म केही जानकारी नआएको बताए । सामान्यतया यस प्रकृतिको घट्नामा बेलायत सरकारले नेपाली दूतावासलाई जानकारी गराउने प्रावधान छ ।

घट्ना अनुसार, सेन्ट्रल लन्डनस्थित टोटेनहामकोर्ट रोडमा चालु एक जापानीज रेष्टुरेन्टमा कार्यरत नेपालीहरु कामपछि त्यहीं क्रिसमस पार्टी गरेर घर फर्कंदै थिए । त्यही क्रममा एक अपरिचित व्यक्तिले नेपाली छात्राको ह्याण्ड ब्याग लुटेपछि नेपालीको समूहले त्यो ‘चोर’ लखेट्दै पिट्न थालेको र एक विदेशी युवतीले तिनलाई छुट्याउन खोज्दा युवतीलाई नै पिटेको अभियोगमा प्रहरीले पक्राउ गरि विद्यार्थीमाथि मुद्दा दायर गरेको थियो ।

समातिएका मध्ये एकजना भोलिपल्ट र तीन विद्यार्थी साता दिन पछि धरौटीमा रिहा भएका थिए । हाइवरी कोर्टले जनही दुई हजार पाउण्ड (करिब साढें तीन लाख रुपैयां) तिरेपछि ति चार जनालाई धरौटीमा रिहा गरेको थियो । धरौटीमा रिहा भएपछि विद्यार्थीलाई सांझ ६ देखि विहान ६ बजेसम्म कतै हिंड्डुल गर्न बन्देज थियो भने उनीहरुलाई विद्युतीय ट्याग लगाइएको थियो ।

लहैलहै र नसाको सुरमा आक्रमक बन्दा आइलागेको कानुनी झमेलाले अभिभावक मात्र होइन, समस्त नेपाली समुदायलाई चिन्तित तुल्याएको छ । बेलायतको कानुनले ‘चोर’ होस् वा सर्वसाधारण, हातपात गर्न छुट नदिने सन्देश समेत घट्नाले दिएको छ ।