एमाओवादी छाडेर राधाकृष्ण मैनाली एमाले फर्किए, बिजय सुब्बा बने केन्द्रीय सदस्य

959 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ, १७ फागुन । चर्चित बाम नेता राधाकृष्ण मैनाली एमालेमै फर्किएका छन् । राजाको प्रत्यक्ष शाहीकालमा मन्त्री हुँदै एमाओवादीको केन्द्रीय सल्लाहकार भएका मैनाली एमालेमै फर्किएका हुन् । उनलाई एमालेले आइतबारै केन्द्रीय सदस्य मनोनित गरेको छ ।

Radhakrishna-Mainali-Bijaya-Subbaनेकपा एमाले स्थायी कमिटीको आइतबारको बैठकले पूर्व पार्टी नेता राधाकृष्ण मैनाली र विजय सुब्बालाई केन्द्रीय कमिटीको सदस्यमा मनोनयन गरेको हो । सुब्बा केही दिन अघि संघीय समाजवादी छाडेर एमालेमा फर्किएका थिए ।

बैठकले पार्टी विधानको धारा ६७ (४) को व्यवस्था अन्तर्गत उहाँहरूलाई मनोनयन गरेको हो । सो दफामा एकता प्रक्रियाबाट आउने व्यक्तिका हकमा केन्द्रीय कमिटीको १० प्रतिशतभन्दा बढी सदस्य मनोनित गर्न सकिने व्यवस्था छ । स्थायी कमिटीले यसअघि यही फागुन १३ गते १० नेतालाई केन्द्रीय कमिटीमा मनोनित गरेको थियो ।

झापा विद्रोहकालीन नेता मैनाली लामो समय एमालेको राजनीतिमा सक्रिय हुनुभई केही वर्ष पहिले एनेकपा माओवादीमा प्रवेश गरी केन्द्रीय सल्लाहकार भए पनि पछिल्लो समयमा स्वतन्त्र वामपन्थीका रुपमा रहनुभएको थियो । उहाँ औपचारिकरुपमा एमालेमा पुनः प्रवेश भने गर्नुभएको थिएन ।

अर्का नेता सुब्बा पूर्व एमाले नेता तथा केही समय अघि सङ्घीय समाजवादी पार्टीको उपाध्यक्षबाट पुनः एमाले प्रवेश गर्नुभएको थियो ।

प्रचण्डको अभिव्यक्तिको खण्डन

एमालेको बैठकमा मुलुकको पछिल्लो राजनीतिक स्थिति, विपक्षी मोर्चाले शनिबार गरेको खुलामञ्चको सभा र विपक्षी नेताहरूका अभिव्यक्ति, संविधानसभाको स्थगित बैठकलाई अगाडि बढाउने तथा संविधान निर्माणको राष्ट्रिय अभिभारालाई सम्पन्न गर्नेलगायतका विषयमाथि गम्भीर छलफल भएको पार्टीका महासचिव ईश्वर पोखरेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

“बैठकले विपक्षी मोर्चाका नेताहरूद्वारा हाम्रो पार्टीका विरुद्ध लगाइएका निराधार लाञ्छना तथा पार्टी नेतृत्वका विरुद्ध गरिएको गालीगलौजलाई हतास मनस्थितिको उपजका रूपमा विश्लेषण गरेको छ” – विज्ञप्तिमा भनिएको छ, “यस्ता गैरजिम्मेवार अभिव्यक्ति र क्रियाकलापबाट रत्तिभर विचलित नभई संवाद र सहमतिको प्रयासलाई जारी राख्दै छिटोभन्दा छिटो संविधान निर्माण गरी परिवर्तनका उपलब्धिलाई संस्थागत गर्ने सुनिश्चितताका लागि सबै खाले पहललाई अगाडि बढाउने निर्णय गरेको छ ।”

वैकल्पिक केन्द्रीय सदस्यको मनोनयन र केन्द्रीय सदस्यको कार्यविभाजन लगायतका कार्यसूचीमा छलफल गर्न स्थायी कमिटीको बैठक सोमबार दिउँसो १ बजे पुनः बस्नेछ ।