रामशरण महत : कांग्रेसका असफल अर्थशास्त्री गिरिजालाई डुबाएपछि सुशीलको पालो

665 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

अरुण बराल

पञ्चायती व्यवस्थाको अन्त्यपछि पहिलो आम चुनावमा नेपाली कांग्रेसले बहुमत प्राप्त गर्‍यो । तर, कांग्रेससँग अर्थमन्त्री बन्ने मानिस थिएनन् ।

पञ्चायतकालमा विदेशमा आकर्षक जागिर खाएका डा. रामशरण महतले चुनाब हारेका कारण उनलाई मन्त्री बनाउनुको साटो राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाइयो ।

ramsaran

गिरिजाप्रसाद कोइरालाको कोटरीमा बसेकाहरुले दिएको जानकारी अनुसार त्यसबेला कोइरालाले अमेरिकामा रहेका सुकदेव साहलाई फोन गरेर भने- ‘तिमी नेपाल आऊ, म अर्थमन्त्री बनाइदिन्छु ।’ तर, साहले नेपालमा अर्थमन्त्रीको तलब कति हुन्छ भनेर सोधेपछि गिरिजाले रिसाएर फोन राख्दै भने-‘त्यसलाई अर्थमन्त्री बनाउनुपर्‍यो भनेको त, तलब पो सोध्छ ।’

पञ्चायलकालमा कांग्रेस बनेर दुख पाएका धनकुटाको सिँबुवा पुख्र्यौली घर भई बिराटनगर बस्ने महेश आचार्यले प्रवासबाटै अर्थशास्त्रमा उच्चशिक्षा सिध्याएका थिए । उनी कुनै राम्रो जागिरको खोजीमा थिए ।

आफ्नै पार्टीको सरकार भएको अवस्थामा महेश आचार्य कृषि विकास बैंकको सीइओ बनाइदिनुपर्‍यो भन्दै काठमाडौं आए । तर, गिरिजाप्रसा कोइरालाले उनलाई हालका गगन थापाकै जस्तो उमेरमा अर्थराज्यमन्त्री बनाइदिए । भनेजस्तो अर्थमन्त्री नभेटेको कांग्रेसले केही समय राज्यमन्त्री र योजना आयोगको उपाध्यक्षकै भरमा देश चलायो ।

जानकारहरुका अनुसार महेश आचार्य अर्थराज्यमन्त्री भए पनि योजना आयोगका उपाध्यक्ष रहेका डा. महतले नै मुलुकको आर्थिक नीति चलाउँथे । आचार्यको भूमिका महतको ‘अर्दली’ जस्तो मात्रै थियो ।

महत आफूलाई एकमात्र अर्थशास्त्र बुझेको कांग्रेस नेता ठान्थे । कसैले बहस गर्न खोज्यो भनेे तैंले अर्थशास्त्र पढेको छैनस् भन्ने महतको जवाफ हुन्थ्यो ।

दोस्रो संसदीय चुनावपछि डा. महत सतहमा अगाडि देखा परे । डा. नारायण खड्का र महेश आचार्यहरुलाई माद खुवाउँदै डा. महत कांग्रेसका एकमात्र अर्थशास्त्रीका रुपमा देखा परे । उनको अर्थशास्त्रले ०४८ सालदेखि अहिलेसम्म मुलुकलाई कुन हालतमा पुर्‍यायो, सबैलाई थाहा छँदैछ ।

गिरिजालाई डुबाउने अर्थशास्त्री

नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला राजनीतिक हिसाबले ‘टावर पर्सनालिटी’ मानिए पनि उनीसँग देशलाई कसरी सम्वृद्ध बनाउने भन्ने कुनै भिजन थिएन । सामाजिक आर्थिक एजेन्डा कस्तो बनाउने भन्ने सपना गिरिजाको दिमागमै थिएन । तर, ०४७ सालपछि देशलाई अगाडि बढाउने र प्रजातन्त्रलाई संस्थागत गर्ने जिम्मेवारी नेपाली कांग्रेसकै काँधमा थियो ।

यस्तो बेलामा राष्ट्रिय योजना आयोग र अर्थमन्त्रालयमा प्रभाव जमाउन सफल अर्थविद भनिएका डा. महतले कुनै पनि जनपक्षीय नीति र योजना अवलम्बन गर्न सकेनन्, जसले नेपाली कांग्रेसबाट भएका कामहरुलाई स्मरण गराउन सकोस् ।

पञ्चायतकालमा राम्ररी फस्टाएका उद्योग धन्दाहरु केही कौडीको भाऊमा बेचिए, केहीमा चर्को राजनीतिकरण गरेर भ्रष्टाचारको अखडा बनाइयो । खुमबहादुर खड्का र चिरञ्जीवी वाग्लेहरु जन्मिए । ठेक्कापट्टामा कांग्रेसीकरण भयो । देश भ्रष्टाचारमा डुब्यो, नेताहरु रातारात करोडपति बने । यो सबै डा. महतको अर्थशास्त्रकै योगदान थियो ।

फलस्वरुप कांग्रेसको गैरजिम्मेवार एवं जनविरोधी आर्थिक सामाजिक नीतिका कारण देशमा विद्रोहको जन्म भयो । अस्थिरता र अराजकताको जन्म भयो ।

वीपी कोइरालाले प्रजातान्त्रिक समाजवादको सिद्धान्त प्रतिपादन गरेका थिए । ०४७ सालमा प्रजातन्त्र आएपछि कांग्रेसले वीपीलाई पछ्याएको भए सामाजिक न्यायसहितको लोकतन्त्र नेपाली कांग्रेसको एजेण्डा बन्नुपर्दथ्यो । यदि कांग्रेसले वीपीले भनेजस्तै सामाजिक न्यायसहितको प्रजातन्त्रको अभ्यास गरेको भए नेपालमा कुनै विद्रोहको जन्म हुने थिएन । तर, डा. महतको अर्थशास्त्रमा सामाजिक न्याय भन्ने शब्दले प्रवेशै पाएन ।

पश्चिमी शिक्षा पाएका र नेपालमा दलाल सामन्त वर्गको प्रतिनिधित्व गर्ने अर्थमन्त्री महतले शिक्षा, स्वास्थ्यजस्ता जनताका आधारभूत अधिकारलाई समेत व्यापारीकरण र निजीकरण गरे । लोक कल्याणकारी व्यवस्थाको अभ्यासतिर कुनै ध्यान दिएनन् । यसले गर्दा नेपाली कांग्रेस गरीखाने वर्गको पार्टी बन्नै सकेन ।

सुशीलले पनि मान्छे पाएनन्

जसले १५ वर्षसम्म नेपाली कांग्रेसलाई प्रजातान्त्रिक समाजवाद र सामाजिक न्यायको बाटोबाट अन्यत्र मोडेर देशलाई भड्खालोमा हाल्यो, अहिले प्रधानमन्त्री सुशील कोइरालाले पनि उनै असफल व्यक्तिलाई आफ्नो आर्थिक सल्लाहकार बनाएका छन् । कोइरालाको इमान्दारितामाथि डा. महतको ‘भ्रष्टशास्त्र’ हावी भएको छ ।

भूकम्प पीडितलाई तत्काल राहतको घोषणा गर्नुपर्छ भन्दा त्यसरी पैसा दिन नसकिने अडान राख्ने महत यतिबेला अर्कोपटक असफल अर्थमन्त्रीमा दर्ज हुने प्रक्रियामा छन् । सरकारले भ्रष्टाचार गर्छ भन्ने विश्वास दाता र जनतामा छ ।

महतले नै दीक्षित गरेका उनका स्वकीय सचिव नै जस्तापाता काण्डमा परेर राजीनामा दिएको अवस्था छ । माइक्रो बसमा चढेका बेलामा सुनिन्छ, यतिका वर्ष सत्तामा बस्दा पनि अर्थमन्त्रीमा किन यस्तो लोभ पलाएको होला ?

अर्थमन्त्री महतको अर्थशास्त्र भनेको भ्रष्टाचार, भ्रष्टाचार र फेरि पनि भ्रष्टाचार हो । भन्सारका कर्मचारी सुरुवा प्रकरणमा लाखौं रुपैयाँ कमिसन मागेको स्वयं अख्तियारकै अधिकारीहरु बताउँछन् । महतको सम्पत्ति पनि अथाह बढ्दै गएको छ ।

पछिल्लो समयमा प्रधानमन्त्री राहत कोषमा रकम जुटाउन नसकेको र अन्तरराष्ट्रिय समुदायलाई विश्वासमा लिन नसकेकोमा प्रधानमन्त्री सुशील कोइरालासमेत डा. महतसँग असन्तुष्ट बनेका छन् ।

महतका नाममा हुने गरेको कमिसनको खेलबाट स्वच्छ छविका प्रधानमन्त्री कोइराला हैरान बनेका छन् । सम्भवतः कोइरालाले राम्रोसँग महसुस गरेका छन् कि कांग्रेसलाई बदनाम गराउने र मुलुकलाई भ्रष्टाचारको अर्थशास्त्रमा डुवाउने डा. महतकै कारण नेपाली कांग्रेस जनतामा बदनाम भइरहेको छ ।

तर, कांग्रेसमा अर्को अर्थशास्त्री को त ? सम्भावित नेता डा. नारायण खड्का पनि यतिबेला त्रिपालको भ्रष्टाचार काण्डले छोपिने क्रममा छन् । निश्कर्षमा यसो भन्न सकिन्छ कि देशलाई सम्वृद्धितर्फ लानुपर्ने जिम्मेवारी पाएको नेपाली कांग्रेस असफल अर्थशास्त्रीको चंगुलमा जकडिएको छ ।

हुनत अर्थमन्त्री डा. महतले प्रजातन्त्रकालमा भएको आर्थिक प्रगतिलाई आफ्नो सफलताका रुपमा आफ्नो पुस्तकमै लेखेका छन् । तर, यो अवधिमा एमालेले अघि सारेको ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रमको उपलब्धीलाई मात्रै झिकिदिने हो भने डा. महतको अर्थशास्त्रमा सम्झन लायकको कुनै एउटा पनि विषय बाँकी रहँदैन ।

आखिर इतिहासले महतमाथि गम्भीर प्रश्न तेस्र्याएको छ, सधैं तनावमा देखिनुहुने तपाईसँग मुलुकलाई सम्वृद्ध बनाउने र आधारभूत जनताको जीवनस्तर उकास्ने कुन त्यस्तो कार्यक्रम छ, जसले तपाईलाई अर्थशास्त्र पढेको नेताका रुपमा मान्न सकियोस् ?

एमाले नेता भरतमोहन अधिकारी र सुरेन्द्र पाण्डेले छोटो समयमा जुन प्रगति गरेर देखाए, एमाओवादी नेता डा. बाबुराम भट्टराईले अर्थमन्त्री हुँदा जसरी राजस्वमा सुधार गरे, योजना आयोगका पूर्वउपाध्यक्ष एवं अर्थमन्त्री महतलाई सम्झन लायक उहाँको योगदान के छ ? केही पनि छैन ।

बरु, त्यसको विपरीत सरुवा बढुवामा पैसा खाने गरेको, राजस्व उठाउन नसकेको, राजनीतिक स्थिरता हुँदा पनि विकास बजेट खर्च गर्न नसकेको र जस्तापाता एवं त्रिपालमा भ्रष्टाचार भएको घटनाले डा. महत सबैभन्दा असफल अर्थमन्त्रीमा दर्ज हुँदैछन् ।

सम्भवतः यही कारणले हुनुपर्छ, विपक्षी मोर्चाले अर्थमन्त्री महतको राजीनामा माग्ने गृहकार्य थालेको छ ।