कमल थापाको कमान्डमा संविधानसभामा घेराउ र नाराबाजी
616 पटक पढिएको
काठमाडौं : नयाँ संविधानको मस्यौदामाथि आजदेखि संविधानसभामा सुरु हुन लागेको छलफलमा केही विपक्षीले अवरोध गरेका छन्।
शुक्रबार अपरान्ह सबा २ बजे बैठक सुरु हुनासाथ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायतका केही विपक्षी सभासद्हरुले घेराउ गरेर नाराबाजी थालेका थिए।घेराउमा मधेस केन्दित केही दल तथा अन्य साना दलका सभासद् पनि सहभागी छन्।
सभाध्यक्षले अवरोध नगर्न पटकपटक आग्रह गर्दा पनि उनीहरुले अटेर गर्दै नाराबाजी गरिरहेका छन्। सभाध्यक्षले भनेका थिए, ‘संविधान निर्माण प्रकियलाई तपाईहरुले यसरी अवरोध नगर्नुस्।’
छलफलमा भाग लिनका लागि एमाओवादीका प्रमुख सचेतक केही बेर रोष्ट्रमा खडा भए पनि नाराबाजी र होहल्लाले बोल्ने स्थिति नभएपछि सभाध्यक्षको अनुमतिमा सिटमा फर्केका छन् । अवरोध गर्नुअघि राप्रपा नेपालका अध्यक्ष कमल थापाले मस्यौदा ल्याउने क्रममा जालझेल भएको भन्दै आपत्ति जनाएका थिए।
थापाले धर्म परिवर्तनको विषय मौलिक हकमा समावेश गरिएको, छ महिनामा स्थानीय निकायको चुनाव गर्ने प्रावधान हटाइएको र संविधानको प्रस्तावनामा समाववाद समावेश गरिएको विषयमा आक्रोश पोख्दै भने, यसरी हटाउने वा थप्ने काम किन गरिय ? यसमा जालझेल भयो।’ उनी बोलेर सकेपछि घेराउ र नाराबाजी सुरु भएको थियो।
सभाध्यक्ष उपाध्यक्ष ओन्सारी घर्तीमगरलाई सभा संचालनको जिम्मा दिएर कार्यकक्षतिर लागेका छन्। अहिले सभाध्यक्षको कार्यकक्षमा गतिरोध हटाउने बारेमा छलफल भइरहेको छ। पटकपटक सम्झाउँदा वा अनुरोध गर्दा पनि जबर्जस्ती गरे बल प्रयोग गरेर भए पनि छलफल अघि बढाउने तयारी भएको बुझिएको छ।
संविधानसभा नियम निलम्बन गरेर फास्ट ट्रयाकबाट संविधान निर्माण प्रक्रिया अघि बढाउने चार दलको कदमको राप्रपा नेपाल र मधेसी दललगायतका साना दलहरुले विरोध गर्दै आएका छन्। बिहीबारको बैठकमा उनीहरुले अवरोधको प्रयास गरेका थिए।
मस्यौदा अध्ययनका लागि सात दिनुपर्ने संविधानसभाको नियम बिहीबार निलल्बन भएपछि आजदेखि छलफल गर्न बाटो खुलेको हो।
संविधानसभाको बिहीबारको बैठकले संविधानसभा नियमावलीको नियम ९३ निलम्बन गरेको थियो। फास्ट ट्रयाकबाट संविधान निर्माण प्रक्रिया अघि बढाउने आवश्यक परे कतिपय नियमहरु निलम्बन गर्ने सहमति दलहरुबीच भएको छ।
–